कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

हुलाकी सडक निर्माणमा ढिलाइ भएको भन्दै गाउँपालिका अध्यक्ष अनशनमा

भाद्र २५, २०८१
हुलाकी सडक निर्माणमा ढिलाइ भएको भन्दै गाउँपालिका अध्यक्ष अनशनमा

परासी — प्रतापपुर गाउँपालिका भित्र पर्ने हुलाकी सडक, संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव अनशनमा बसेका छन् ।

यसअघि संघीय हुलाकी सडकको अधुरो काम तत्काल सम्पन्न गर्न संघ सरकारलाई पत्राचार र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका उनले आफ्ना माग पूरा नभएको भन्दै मंगलबारबाट रिले अनशन सुरु गरेका हुन् ।

अध्यक्षको नेतृत्वमा गाउँपालिकाका वडा अध्यक्ष र जनप्रतिनिधिहरू संयुक्तरुपमा अनशनमा बसेका हुन् । संविधानसभा सदस्य विक्रम खनालले पनि अनशनमा सहभागी भएका छन् । इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशनमा बसेको र २७ गतेसम्म पनि कामले तीव्रता नपाएमा आमरण अनशनमा बस्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

हुलाकी सडक निर्देशनालय अर्न्तगत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलब ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रदशर्न र धर्ना दिएका थिए ।

सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटकपटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।

२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसको कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : भाद्र २५, २०८१ १३:४४
×