कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

गाउँकै क्याम्पस र स्कुलमा पढाइ राम्रो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

भाद्र २०, २०८१
गाउँकै क्याम्पस र स्कुलमा पढाइ राम्रो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय गाउँका स्कुल तथा क्याम्पसमा शैक्षिक गुणस्तर खस्केको भन्दै सहरमा जानु चिन्ताको विषय भएको बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका आचार्यले बिहीबार शितगंगा नगरपालिका–३ मा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसको अनुगमन गर्दै गाउँकै स्कुल र कलेजमा शैक्षिक गुणस्तर राम्रो बनाउनुपर्ने र छोराछोरी पढाउनकै लागि सहरमा डेरा गरी बस्न, बसाइँसराइ गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा स्कुल व्यवस्थापन समिति, क्याम्पस सञ्चालक समिति र शिक्षक सबै लाग्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो । अहिले क्याम्पसमा पठनपाठनको लागि कक्षा कोठाको अभाव नभए पनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख विष्णु भट्टराईले बताए ।

‘प्रदेश सरकारले पूर्वाधारको जग बसाल्ने काम भयो । यहाँका दानदाताहरुको थप सहयोगले भवनलाई सम्पन्न गरेका छौं,’ उनले भने, ‘अब हामीलाई डेस्क, बेन्च अनि शौचालयको खाँचो छ ।’ क्याम्पसमा स्नातकमा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा १ सय ३८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २०, २०८१ १५:३५
x
×