कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

सिद्धार्थनगरमा अटो टेम्पो तथा इ–रिक्सा संचालन मापदण्ड तयार

भाद्र २०, २०८१
सिद्धार्थनगरमा अटो टेम्पो तथा इ–रिक्सा संचालन मापदण्ड तयार

भैरहवा — बिनादर्ता र अनियन्त्रित ढंगबाट भैरहवा क्षेत्रमा अटो टेम्पो तथा इ–रिक्सा संचालन हुन थालेपछि व्यवस्थित गराउन सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको छ । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अटो टेम्पो तथा इ–रिक्सासँग सम्बन्धित व्यावसायिक संस्थाका प्रतिनिधि, नगरपालिका, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सहितको सर्वपक्षीय बैठकको निष्कर्ष समेटेर मापदण्ड बनाइएको बताए । उनका अनुसार मापदण्डअनुसार अब सिद्धार्थनगर क्षेत्रमा ५ सय वटामात्र अटो टेम्पो तथा इ–रिक्सा दर्ता भएर व्यावसायिक रुपमा संचालन हुन पाउने छन् । यस्तै नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू-बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिने भएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इ-रिक्सा संचालनमा भने प्रतिबन्ध लगाइने छ ।

‘मापदण्ड कार्यान्वयनका लागि २०७८ मा बनेको यस सम्बन्धित कार्यविधि संशोधन र परिमार्जनको तयारी गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने, ‘त्यसपछि दर्ता प्रक्रिया सुरु गरी कडाइकासाथ कार्यान्वयनलाई अगाडि बढाइने छ ।’

सिद्धार्थनगरमा दर्ता भएका अटो टेम्पो तथा ई–रिक्साको संख्या १ सय ८४ मात्र छ । तर, नगर क्षेत्रमा १ हजार ५ सयभन्दा धेरै संचालनमा रहेको अनुमान गरिएको छ । बिनादर्ता र गैरनेपाली व्यवसायीले संचालन गरेको अटो टेम्पो तथा ई-रेक्सा धेरै भएकाले अव्यवस्थित भएकाले व्यवस्थित गर्न व्यवसायीले माग गर्दै आएका छन् ।

मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा संचालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायत्का मापदण्ड छन् । नगरभित्रका सडकको क्षमता, स्थानीय नगरवासीको आवश्यकता र औचित्यको आधारमात्र दर्ता गरी र संचालन गरिने थापाले बताए ।

प्रकाशित : भाद्र २०, २०८१ १०:२६
x
×