कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

निर्माण सम्पन्न भएको दुई वर्षमा पनि संचालनमा आएन चिस्यान केन्द्र

भाद्र ११, २०८१
निर्माण सम्पन्न भएको दुई वर्षमा पनि संचालनमा आएन चिस्यान केन्द्र

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा दुई वर्षअगाडि निर्माण भएको चिस्यान केन्द्र संचालनमा आउन सकेको छैन । कार्यविधि र केही प्राविधिक पक्षको काम बाँकी भएको भन्दै केन्द्र संचालनमा नआएको हो ।

चिस्यान केन्द्र संचालनमा नआउँदा यस क्षेत्रका व्यावसायिक केरा उत्पादक किसान समस्यामा परेका छन् । २०७९ सालमा निर्माण सम्पन्न भए पनि गाउँपालिकाले कार्यविधि नबनाउँदा करोडौंको लागतमा निर्माण भएको केन्द्र प्रयोगविहीन अवस्थामा छ ।

केरा खेतीका लागि प्रसिद्ध सुस्तामा चिस्यान केन्द्र संचालनमा नआउँदा यहाँका किसान केरा सस्तोमा बिक्री गर्नु परेको र तत्काल बिक्री हुन नसकेकामा उत्पादन नै खेर जाने समस्या भए पनि पालिकाले बेवास्ता गरेको केरा उत्पादक किसान समितिका जिल्ला अध्यक्ष लख्खु यादव बताए ।

चिस्यान केन्द्र संचालनका लागि कार्यविधि बनाउने र आवश्यक थप भौतिक संरचनाको काम थप गर्नुपर्ने भएकाले संचालनमा ढिलाइ भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । ‘भवन निर्माण त भयो तर चिस्यान केन्द्रका लागि आवश्यक प्राविधिक पक्ष धेरै बाँकी रहेछन्,’ उनले भने, ‘प्राविधिक कामको विषयमा केन्द्र र प्रदेशसँग समन्वय गरेका छौं । प्राविधिक कामको विषयमा टुंगो लागेपछि कार्यविधि निर्माण गर्नेछौं ।’

४ करोड ९९ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको हो ।

प्रकाशित : भाद्र ११, २०८१ १६:३३
x
×