कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लुम्बिनीका ४ मन्त्रालयबाट ४ सय १९ कर्मचारी सरुवा

भाद्र १०, २०८१
लुम्बिनीका ४ मन्त्रालयबाट ४ सय १९ कर्मचारी सरुवा

Highlights

  • मुख्यमन्त्री कार्यालयबाट १ सय २१ र वन तथा वातावरण मन्त्रालयबाट १ सय ४७ को सरुवा
  • अन्य मन्त्रालयले पनि सरुवा सूची तयार गर्दै

बुटवल — लुम्बिनी प्रदेश सरकारले विभिन्न तहका ४ सय १९ जना कर्मचारीको सरुवा गरेको छ । सरकारको सचिवस्तरीय निर्णयबाट उपसचिवदेखि तृतीय श्रेणीसम्मका कर्मचारी सरुवा गरेको हो ।

प्रदेश सरकारको कर्मचारी व्यवस्थापन कार्यविधि, २०७७ ले साउन महिनालाई कर्मचारी सरुवाको महिना बनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन २१ भित्र र अन्य मन्त्रालय वा निकायले साउन मसान्तभित्र कर्मचारी सरुवा वा पदस्थापन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । त्यही कार्यविधि अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन २१ मा र अन्य मन्त्रालयले भदौ ७ र ९ मा ठूलो संख्यामा कर्मचारी सरुवा गरेका हुन् ।

सबैभन्दा बढी वन तथा वातावरण मन्त्रालयका १ सय ४७ कर्मचारी सरुवा भएका छन् । दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ सय २१ जनाको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयले ८४ र आर्थिक मामिला मन्त्रालयले लेखा समूहका ६७ जनाको सरुवा गरेको हो ।

सरुवामा पर्ने अधिकांश कर्मचारी एउटै कार्यक्षेत्रमा २ वर्ष वा त्यसभन्दा बढी बसेका परेका छन् । सरकारले सरुवासम्बन्धी कार्यविधिमा न्यूततम दुई वर्ष कार्यजिम्मेवारीमा निरन्तर खटिएकालाई अर्को स्थानमा सरुवा गर्ने नीति बनाएको छ । सरकारले साउन पहिलो साता नै सरुवा मापदण्ड अनुसार समयावधि पुगेका कर्मचारीलाई अर्को स्थानको सरुवाका लागि रोज्न लगाएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरुवा माग्नेमा प्रदेशको राजधानी रहेको दाङको देउखुरीका मन्त्रालय र मातहतका निर्देशनालय वा विभागमा रहेका कर्मचारीले रूपन्देही, बुटवल र त्यस आसपासका कार्यालयमा माग गरेका थिए । बाहिरबाट मन्त्रालय वा देउखुरीमा जान चाहनेको संख्या न्यून थियो ।

सरकारको कर्मचारी व्यवस्थापन कार्यविधि अनुसार राजपत्राङ्कित प्रथम श्रेणी वा अधिकृत एघारौं तह वा सोभन्दा माथिका कर्मचारीको नियुक्ति, पदस्थापन वा सरुवासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुने उल्लेख छ । त्यस्तै अधिकृतस्तर नवौं, दसौं र राप द्वितीय वा सो सरहका कर्मचारीको पदस्थापन, सरुवा प्रदेश प्रमुख सचिवस्तरीय निर्णयबाट हुने उल्लेख छ । त्यस्तै अधिकृत स्तर आठौं तहदेखि तृतीय तहसम्मको कर्मचारीको नियुक्ति, पदस्थापन वा सरुवा सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था छ ।

मन्त्रालयहरूले त्यही अनुसार सरुवा गरेका छन् । मुख्यमन्त्री कार्यालयमा कार्यरत ५ उपसचिवको सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव प्रेमप्रसाद आचार्य सहरी विकास तथा खानेपानी मन्त्रालयमा गएका छन् । त्यस्तै उपसचिव कृष्णप्रसाद गौतम कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, पुनाराम पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहकारी दर्ता अधिकारीको कार्यालयमा रहेका मधुसूदन पौडेल स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा रहेका दिवाकर भण्डारी शिक्षा तालिम केन्द्र रूपन्देही सरुवा भएका छन् ।

त्यस्तै लेखा समूहबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले सहरी विकास तथा खानेपानी मन्त्रालयका वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत दिनेशसिंह ठाकुरलाई यातायात व्यवस्था कार्यालय बाँके, आर्थिक मामिला तथा योजना मन्त्रालयका लेखा अधिकृत नवीन श्रेष्ठलाई प्रदेश लेखा नियन्त्रणको कार्यालय बुटवल र सडक पूर्वाधार विकास कार्यालय दाङमा कार्यरत लेखा अधिकृत नवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा सरुवा गरेको छ ।

मुख्यमन्त्री कार्यालयका उपसचिव महेश पाण्डेका अनुसार कर्मचारी व्यवस्थापन कार्यविधि अनुसार मुख्यमन्त्री कार्यालयले ५ जना उपसचिव, दसौं तहका २०, नवौं तहका २, आठौं तहका १६ जनासहित १ सय २१ जना कर्मचारीको सरुवा गरिएको बताए । ‘मुख्यमन्त्री कार्यालय र अन्य तीन मन्त्रालयले कर्मचारीको सरुवा गरिसकेका छन्,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन कार्यविधिले साउनभित्रै सरुवाको निर्णय गर्न भने पनि केही मन्त्रालय अझै तयारीमै छन् ।’

अहिलेसम्म मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले गरी ४ सय १९ जना कर्मचारीको सरुवा भएको उनले बताए । कर्मचारी व्यवस्थापन कार्यविधिले लेखा समूहका कर्मचारीको सरुवाका लागि प्रदेश लेखा नियन्त्रण कार्यालयको समन्वयमा आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उल्लेख छ ।

सम्बन्धित मन्त्रालयहरूका अनुसार मुख्यमन्त्री कार्यालयले आठौं तहका १६, सातौंका २, छैटौंका ६३, पाँचौंका १० र चौथो तहका ३ जना कर्मचारी सरुवा गरेको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयले आठौंका ८०, सातौंका ५, छैटौंका २४ र पाँचौंका १५ र तृतीय श्रेणीका २३ गरी १ सय ४७ जना कर्मचारी सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयबाट आठौं तहका २३, सातौंका ७, छैटौंका २५ र पाँचौंका २९ जना गरी ८४ जना सरुवा भएका छन् । त्यस्तै लेखा समूहबाट आठौं तहका ८, छैटौं तहका ५२ र पाँचौं तहका ७ जना गरी ६७ जना सरुवा भएका छन् ।

वन मन्त्रालयले वन सहायकदेखि रेन्जर र वन अधिकृत सरुवा गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले आयुर्वेद चिकित्सक, मेडिकल अधिकृत, वरिष्ठ जनस्वास्थ्य अधिकृत, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, जनस्वास्थ्य निरीक्षक, ल्याब टेक्निसियन निरीक्षक, स्टाफ नर्स, ल्याब टेक्निसियनलगायतका स्वास्थ्यकर्मी सरुवा गरेको छ । जिल्ला अस्पतालबाट सरुवा भएका अधिकांश मेडिकल अधिकृतहरू लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले सरकारको मापदण्ड पुगेका र सरुवाका लागि निवेदन दिएका कर्मचारीको सरुवा गरिएको बताए । ‘१० जना मेडिकल अधिकृतसहित आठौं तहका १८ जनाको सरुवा गरिएको छ,’ उनले भने, ‘सरुवाको मापदण्ड पुगेका र दुर्गममा बसेकाहरूलाई प्राथमिकता दिइएको छ ।’ सरुवा गरिएका ८४ मध्ये पाँचौं तहका स्टाफ नर्स र ल्याब टेक्निसियन धेरै रहेको उनले बताए ।

प्रकाशित : भाद्र १०, २०८१ १९:३४
x
×