कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रम्भादेवीमा कृष्ण जन्माष्टमीको उल्लास [तस्बिरहरू] 

भाद्र १०, २०८१
रम्भादेवीमा कृष्ण जन्माष्टमीको उल्लास [तस्बिरहरू] 

पाल्पा — झण्डै ६ वर्षपछि मानिसको भीड अधिक देखेपछि स्थानीय दयाप्रसाद श्रेष्ठ निकै खुसी थिए । कोभिडअघिसम्म भीडभाड रहने रम्भा गाउँपालिका–५, ताँहुस्थित रम्भादेवी मन्दिरमा पूजाआजा गर्ने र नजिकैको नाचनडाँडामा बिस्तारै भीड कम हुँदै गएको थियो । 

‘२० वर्षअघिसम्म देवीको दर्शन गर्नेको एक किलोमिटर भन्दा बढी लाइन हुन्थ्यो,’ उनले भने, ‘भीड व्यवस्थापन गर्न सयौं स्वयंसेवक परिचालन गर्नुपर्ने हुन्थ्यो ।’

तर रम्भादेवीमा आउने सुविधा थपिंदै गर्दा भने भीड कम हुँदै गएकामा चिन्तित थिए । केही वर्षअघि रम्भादेवी पर्यटन विकास प्रतिष्ठान गठन गरेर भौतिक निर्माणका काम भइरहेको छ । तर श्रद्धालुको संख्यामा भने विगतमा भन्दा कमी हुँदै गएको छ ।

‘अब कसरी यहाँको रौनक फर्काउने भन्ने चिन्ता हामी सबैमा जागेको छ,’ प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘त्यसैले विभिन्न उपाय अपनाउन थालिएको छ ।’ तर यस वर्ष भने सोमबार श्रीकृष्णजन्माष्टमीका दिन रम्भादेवी दर्शन र नाचनडाँडामा बढेको भीडले उनलाई केही हौस्याएको छ ।

रम्भादेवी मन्दिर र यसको वरपर भौतिक संरचनाका काम भइरहेको छ । रम्भा गाउँपालिकाले भौतिक पूर्वाधारमा जोड दिएर बजेट विनियोजन गरिएको छ । सुरक्षा र पुजारीका लागि भवन बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । ‘हामीले यस क्षेत्रमा रौनक थप्नका लागि भौतिक पूर्वाधार र मन्दिर परिसरको विकासमा जोड दिएका छौं,’ उनले भने ।


यसपटक सहयात्रा नेपालको आयोजना, रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहआयोजना र रम्भा गाउँपालिकाको प्रवर्द्धनमा पहिलो पटक सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । जसले गर्दा यस भेगका प्रायः श्रद्धालु रम्भादेवी दर्शन गर्न पुगेका थिए ।


रम्भादेवी मन्दिर नजिकैको नाचनडाँडामा आयोजित सांस्कृतिक महोत्सवमा स्थानीय लोपोन्मुख संस्कृति प्रदर्शनका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रह्यो । हुन त रम्भादेवी सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक हो । यसपटक मेलालाई सांस्कृतिक महोत्सवका रूपमा गर्दा श्रद्धालुको पनि भीड बढेको सहयात्रा नेपालका अध्यक्ष तथा कलाकार दुर्गा रायमाझीले बताए ।

महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै राष्ट्रिय कलाकारको प्रस्तुतिले थप रौनकता थपिएको स्थानीय तथा रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।


महोत्सवमा रामपुरको बालन (कृष्ण चरित्र) ले दर्शकको मन तान्न सफल भयो । माथागढीको झाम्रे, हुमीनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठीसहित स्थानीय मौलिक कला संस्कृति प्रस्तुतिमा मेला भर्न आएकाहरू रमाए । प्रवेश निःशुल्क गरिएकाले भीड निकै बढेको स्थानीय अजय कार्कीले बताए । राष्ट्रिय कलाकारहरू नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जीसी, नारायण लेकाली, अमृत अधिकारी, नवीन पौडेल, माधव भण्डारी, श्रीदेवी देवकोटा, बसन्ती थापा, कमल भट्टराई, रूपेश कार्की, सकुन्तला गैरै लगायतको प्रस्तुतिले दर्शकलाई नचायो ।


महोत्सवले विगतदेखि चल्दै आएको धार्मिक आस्था तथा कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न सहयोग पुगेको सहयात्रा नेपालका महासचिव केशव आचार्यले बताए । कृष्णाष्टमीमा रम्भादेवीमा लाग्ने मेला, महोत्सवको महत्व र धार्मिक आस्था बृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।

प्रकाशित : भाद्र १०, २०८१ २१:०२
x
×