कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कान्ति तालमा बोट नचलाउन माग  

भाद्र १०, २०८१
कान्ति तालमा बोट नचलाउन माग  

नेपालगन्ज — सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व बोकेको स्थानीय तहले नै मास्न थालेको भन्दै संरक्षणकर्मीले विरोध गरेका छन् । बाँकेको नेपालगन्जमा रहेको कान्ति ताललाई संरक्षण गर्नुका साटो स्थानीय तहले नै सिमसार क्षेत्र मास्न जुटेको उनीहरुको आरोप छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा पर्ने प्राकृतिक सिमसार कान्ति तालमा मोटरबोट चलाउन खोजिएपछि यहाँका संरक्षणकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । कान्ति ताल बचाउन उनीहरुले अभियाननै सुरु गरेका छन् ।

ठेकेदारले दुई वर्षदेखि तालमा माछापालन गर्दै आएकोमा यसपटक मोटरबोट समेत सञ्चालनको तयारी छ । मोटरबोट सञ्चालन भएपछि प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको तालको अस्तित्व नै समाप्त हुने खतरा रहेको भन्दै संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका हुन् ।

उपमहानगरपालिकाले तालमा माछापालनलगायत क्रियाकलाप गर्ने गरी दुई वर्षअघि स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई ठेक्का दिएको थियो । यसअघि उपमहानगरपालिकाले अर्को सिमसार क्षेत्र वाटर पार्कमा पनि मोटरबोट सञ्चालन गर्न ठेक्का दिएको थियो ।

उपमहानगरपालिका राजश्व शाखाका अनुसार ठेकेदारले २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताल उपयोग गरे बापत वार्षिक २२ लाख ५० हजार रुपैयाँ राजश्व बुझाउँछन् । सम्झौताको अवधि १० वर्षको छ । वर्षौदेखि अलपत्र रहेको ताललाई उपमहानगरपालिकाले साढे १० करोड रुपैयाँ खर्च गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको थियो ।

उपहानगरपालिकाकाले उक्त ताल वरिपरि ७ मिटरको कालोपत्रे सडक, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरेको छ । नेपालगन्ज सहरमा रहेको यो सिमसारमा एकैदिन करिब डेढ घण्टामा ३२ प्रजातिका चरा देखिएका थिए ।

साइबेरियनलगायतका विदेशबाट आएका चराले पनि ताललाई बासस्थानका रूपमा प्रयोग गरेको अध्ययनले देखाएको विज्ञहरू बताउँछन् । संरक्षणकर्मी कमल राइले मोटरबोट सञ्चालन भएपछि विभिन्न प्रजातिका चरा, सरीसृपलगायतको बासस्थान र बोटविरुवा लोप हुने बताए ।

‘तालमा रहेको झाडी, बुट्यानमा बस्ने चरा यहाँ धेरै संख्यामा छन्,’ राइले भने ‘मोटरबोट चलेपछि सबै चरा र सरीसृपको बासस्थान मेटिन्छ र यहा उम्रिएका विभिन्न प्रजातिका फुल र झाडी तथा बुट्यान नष्ट भएर जान्छन् ।’

संरक्षणकर्मी आशिष चौधरीलेनेपालगन्ज उपमहानगर क्षेत्रमा एकपछि अर्को गरेर सिमसार क्षेत्र मासिँदै गइरहेका बेला कान्ति तालको पनि प्राकृतिक अस्तित्व मेटाउन खोजिएको आरोप लगाए । ‘माछापालन गरे पनि इन्धनबाट चल्ने मोटरबोट पानी जीवका खतरनाक हुनेछ । दुर्लभ पन्छी सारस र मलाहा बिरालोका लागि उक्त तालमा माछालगायत किराहरू प्रमुख आहारा मानिन्छ,’ संरक्षणकर्मी चौधरीले भने,‘यी जीव जन्तुका लागि मोटरबोट निकै घातक मानिन्छ, तर ठेकेदारले मोटरबोट चलाउन खोजिरहेको छ, एउटा बोट ल्याएर राखिसकेको छ,’

उनका अनुसार कान्ति तालमा हिउँदको सिजनमा बाहिरबाट समेत आगन्तुक चरा आउने गर्छन् । यहाँ स्थानीय चराको पनि राम्रो बासस्थान रहेको छ । बाहिरबाट यहा आउने चराले केही महिनासम्म बसेर बच्चा समेत उत्पादन गर्ने गरेको उनले बताए । यहाँका संरक्षणकर्मीले दुई वर्षदेखि कान्ति तालमा चरा गणना गर्दै आएका छन् । ‘पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए, दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परे, आउँदो हिउँदमा फेरि पनि चरा गणना गर्ने योजनामा छौं,’ संरक्षणकर्मी चौधरीले भने ।

उनका अनुसार कान्ति तालमा दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट), दुर्लभ पंक्षी सारश, विभिन्न प्रजातिका सरीसृप, रैथाने चराले प्रशस्त मात्रामा बासस्थान बनाएका छन् । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता डा. बिनोद कर्णले आफूहरुको विरोध गरेपछि तत्कालका लागि मोटरबोट चलाउन रोके पनि तालमा बोट चलाउने प्रयास भइरहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाकै संलग्नतामा ठेकेदारले कान्ति तालमा मोटरबोट चलाउन खोजेको डा. कर्णको जिकिर छ । ‘कस्तो तालमा मोटरबोट चलाउने, कस्तो तालमा मोटरबोट नचलाउने भन्ने कुराको हेक्का उपमहानगरपालिकाले राख्न जरुरी छ, पर्यावरण नै नष्ट गरेर बोट चलाउन खोजिनु राम्रो कुरा होइन्,’ कर्णले भने।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्ति तालमा मोटरबोट चलाउन अनुमति नदिएको बताए । ‘वाटरपार्कमा मोटरबोट चलाउन दिइसकेपछि कान्ति तालमा पनि मोटरबोट चलाउने कुनै निर्णय भएको छैन,’ उनले भने,‘कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गर्न आवश्यक छ । त्यसैले यस विषयमा के गर्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने छौं ।’ कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गरेर पनि पर्यटनको विकासको सम्भावना देखिएको प्रवक्ता रिजालले बताए ।

उपमहानगरका राजश्व शाखा प्रमुख बीरबहादुर थापाले कान्ति तालको ठेकेदारले वार्षिक २२ लाख ५० हजार रुपैयाँ बुझाउँदै आएको बताए । ‘तत्कालीन धवलशम्शेर राणा मेयर हुँदा यो तालमा १० वर्षका लागि ठेक्का दिइएको हो, मुख्य रुपमा माछापालन गर्ने हो,’ राजश्व शाखा प्रमुख थापाले भने, ‘ठेकेदारले माछापालन गरिरहेका छन् ।’

उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । दुई वर्षदेखि सुरु गरिएको गणना अनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका छन् । आगामी हिउँदे सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ ।

तालमा दुर्लभ पक्षी सारस, अन्य रैथाने चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो(फिसिङ क्याट) लगायतको बासस्थान रहेको छ । यहाँ गर्मीयाममा युरोप, मध्य पूर्वी एसिया, इन्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोमा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् ।

बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । चरा विज्ञ समेत रहेका बाँके राष्ट्रिय निकुञ्जका रेन्जर यम रावतले भने, ‘दुर्लभ सारसको प्रजनन स्थल पनि हो कान्ति ताल । कान्ति ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ ।’

सारसको वासस्थान बाकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोला रहेको छ । तर, यी मध्ये सबैभन्दा राम्रो बासस्थान कान्ति ताल रहेको चराविद् बताउँछन् । चराविद्का अनुसार सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा मात्रै सारस फेला परेका थिए ।

चरा विज्ञ समेत रहेका बाके राष्ट्रिय निकुञ्जका रेन्जर रावत कान्ति तालमा मोटर बोट सञ्चालन भएपछि दुर्लभ चरासहित यहाँ आश्रित जीवजन्तुको वासस्थान हराएर जाने हुँदा यसबाट ‘इको सिस्टमै प्रभाव पर्ने बताए । ‘कान्ति तालमा स्थानीय दुर्लभ प्रजातिका चराको बासस्थान त छ नै, बाहिरबाट सिजन अनुसार आउने आगन्तुक चरा पनि हराएर जान्छन्, यसले इको सिस्टम नै नष्ट हुन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १०, २०८१ १८:१६
x
×