कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पाल्पाको भगवती रथयात्रामा राष्ट्रपति पौडेल सहभागी हुने

भाद्र ९, २०८१
पाल्पाको भगवती रथयात्रामा राष्ट्रपति पौडेल सहभागी हुने

पाल्पा — हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन बजार परिक्रमा गराइने पाल्पाको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । 

रथयात्रा र भगवती मन्दिरमा पूजा आराधनाका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीता हुने भएको हो । नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा निकालिँदै आएको छ ।

रणउजीरेश्वरी भगवतीको पूजा आराधना तथा रथयात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने निश्चित भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट नुवाकोट जितगढीमा जोगाएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा रथयात्रा निकालिँदै आएको छ ।

तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको हो ।

युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको इतिहासमा उल्लेख छ । कर्णेल उजीरसिंह थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेको इतिहासविद्ले उल्लेख गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०८१ ०८:२४
x
×