कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ठेक्काको काम पूरा गर्नूस्, भुक्तानी लिन असार कुर्नु पर्दैन : मुख्यमन्त्री आचार्य

भाद्र ९, २०८१
ठेक्काको काम पूरा गर्नूस्, भुक्तानी लिन असार कुर्नु पर्दैन : मुख्यमन्त्री आचार्य

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण क्षेत्रमा आफूले लिएको काम समयमै पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेश कमिटीको आइतबार दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीलाई ठेक्काको जिम्मा लिने र पूरा नगरी आयोजनाहरू अलपत्र पार्ने काम भएकाले समयमै काम पूरा गर्न निर्देशन दिएका हुन् ।

‘पहिले नै काम सम्पन्न गरे पनि सरकारले सहजै भुक्तानी दिनेछ,’ उनले भने, ‘योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन ५ लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाका माध्यमबाट लागू गर्ने नीतिगत निर्णय गरिएको छ ।’

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिस्पर्धाका माध्यमबाट अघि बढाउन खोजेको बताउँदै साना योजनालाई जोडेर ई–टेन्डर गर्ने पनि उनले बताए ।

योजना कार्यान्वयन गर्दा सरकारले गत वर्षको २ अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको र स्रोत जुटाउने गरी सरकारले पहल गरेको उनले बताए । गत वर्ष खानेपानी आयोजनाका लागि ५८ करोड रकम भुक्तानी गरेर बीचमा रोकिएका आयोजनालाई गति दिने काम अगाडि बढाएको उनले बताए ।

निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्तकण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन उनले अनुरोध पनि गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०८१ १५:२०
x
×