कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

भाद्र ८, २०८१
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पाल्पा — शनिबार अपराह्न सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकै खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।

राजमार्गमा खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएपछि अलपत्र सयौं यात्रु गन्तव्यतर्फ लागेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । ठुल्ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएपछि सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चार वटा हेभी मेसिनले पहिरो पन्छाउने प्रयास गरेर सडक एकतर्फी खुलेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

ढुंगासहितको पहिरो ठूलो भएकाले सडक दोहोरो सवारी साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलेपछि दुवै तर्फका सवारीसाधन दोभान र चिडियाखोलाबाट गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । राजमार्ग भएर दैनिक ५ हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन् ।

भारतलगायत रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट पहाडी जिल्ला पाल्पाबाहेक स्याङ्जा, गुल्मी, बागलुङ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङसम्मका सवारी साधन यही सडक भएर आवतजावत गर्छन् ।

प्रकाशित : भाद्र ८, २०८१ २१:१६
x
×