कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सीमामा खटिने प्रहरी नै आइजीपी हाे : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

भाद्र ७, २०८१
सीमामा खटिने प्रहरी नै आइजीपी हाे : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

भैरहवा — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीकाे संगठन प्रमुख (आइजीपी)सरह जिम्मेवारी भएकाले कुनै माेलाहिजा नराखेर काम गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयकाे साताैं वार्षिकोत्सव समाराेहलाई शुक्रबार सम्बाेधन गर्दै अर्यालले सीमा सुरक्षाका लागि पालेकाे रुपमा तैनाथ एक सय जनामध्ये १ जनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्‌नाम हुने भएकाले आफ्नोे राष्ट्र र राष्ट्रकाे झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए ।

'सीमा सुरक्षा एक्लाे प्रयासले सम्भव हुँदैन,'उनले भने, 'त्यसैले सीमा क्षेत्रका नागरिकसित हातेमालो गरेर काम गर्न जरुरी छ, यसमा ध्यान दिनुहाेला ।' नागरिकसित सम्बन्ध सुधारका लागि सीमा क्षेत्रका बासिन्दासित सशस्त्र प्रहरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

लुम्बिनी आर्थिक, राजनीतिक, धार्मिक रुपले विशिष्ट प्रदेश भएकाले यस्ताे अवस्थामा सीमा सुरक्षामा निर्वाह गरेकाे भूमिका सराहनीय रहेकाे उल्लेख गर्दै उनले राजश्व चुहावट नियन्त्रण प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । सशस्त्र प्रहरीलाई सीमामा माटाेकाे रक्षाका लागि निमित्त खटाइएकाले सीपाही, हवलदार, अधिकृत हाेइन राष्ट्रकाे प्रतिनिधिका रुपमा दायित्व निर्वाह गर्नुपर्ने अर्यालकाे भनाइ थियाे ।

'सीमा रक्षामा माेहिलजा देखाएर सह्य हुँदैन,' उनले भने, 'अपराधीलाई बचाउनु पनि अपराध हाे । ख्याल गर्नुहाेला । सबैले कमाण्डरकाे भावनाले काम गर्नुस् । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हाे ।'

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले लुम्बिनी प्रदेशकाे सबैभन्दा उच्च रुकुम पूर्वकाे पुथा हिमालदेखि समुन्द्री सतहबाट नजिक रुपन्देहीकाे खैराघाटसम्म सशस्त्र प्रहरी तैनाथ रहेकाे बताए ।

'जस्तोसुकै चुनाैंती पनि सामुहिक भावनाले पार गरिरहेका छाैं,' उनले भने, 'प्रदेशमा सीमा सुरक्षा, चाेरीपैठारी नियन्त्रण, घाइते उद्वार, विपत व्यवस्थापन, आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी अग्रस्थानमा छ ।' सीमा, आन्तरिक सुरक्षा, राजश्व बृद्विमा खेलेको भूमिका कारण गत वर्ष लुम्बिनी प्रदेशबाट चाेरीपैठारी नियन्त्रणबाट गत वर्ष ३५ कराेड २० लाख राजश्व संकलन भएकाे उनले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा सीमा व्यवस्थापनमा भूमिका खेलेकाे उल्लेख गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, सिद्वार्थ नगरपालिका प्रमुख इस्तियाक अहमद खान, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खानलाई कदरपत्र प्रदान गरिएको थियाे ।

त्यस्तै, बाहिनीकाे वाषिर्कोत्सव अवसरमा आयाेजित विभित्र खेलका बिजेता र वर्षभरि उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीलाई पुरुस्कृत गरिएको थियाे ।

प्रकाशित : भाद्र ७, २०८१ १९:४४
x
×