कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

वन रक्षकसँग रत्तिँदै चित्तल

भाद्र १, २०८१
वन रक्षकसँग रत्तिँदै चित्तल

नेपालगन्ज — वनजंगलमा खेल्ने चित्तलको बच्चा अहिले डिभिजन वन कार्यालय बाँकेमा मानिससँग रत्तिँदै छ । वनवरपर उर्फ्रिने चित्तल अहिले मान्छे देख्नासाथ नजिकै आउन थालेको छ । वन कार्यालय पस्ने मान्छेहरू पनि चित्तलको बच्चालाई देखेर रमाइरहेका देखिन्छन् ।

गत जेठ ११ मा बाँकेको बैजनाथ गाउँपालिका–२ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उक्त चित्तलको बच्चालाई उद्धार गरिएको हो । सोही चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकको निगरानीमा हुर्किरहेको छ । आमाको काख छोडेर बिछडिएको उक्त चित्तललाई वन कार्यालयका कर्मचारीले अहिले दुधदानीबाट दुध खुवाउँदै हुर्काउँदै छन् ।

कोहलपुर सव डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको संयुक्त सहकार्यमा उद्धार गरिएको चित्तल डिभिजन वन कार्यालयलको केजमा बसिरहेको छ । ‘सुरुका दिनमा दुध खान पनि जान्दैन्थ्यो,’ वन रक्षक तेजबहादुर खत्रीले भने, ‘अब त एक लिटर दूध ल्याइदिनुपर्छ । गर्मी भएकाले दिनभरि पानी पनि खुवाउनुपर्छ ।’

उद्धार गर्दा चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । वन रक्षकहरूले पालैपालो चित्तलको रेखदेख गर्छन् । ‘बच्चाजस्तै गरी स्याहार गर्नुपर्छ । आमाको काख छोडेर आएकाले होला, मान्छे देख्नेबित्तिकै लुटपुटिन खोज्छ,’ वन रक्षक रेसम गुरुङले भने, ‘खोरबाट निस्किएर सडकमा जाला भन्ने चिन्ता बढी छ, त्यसैले धेरै निगरानी गर्नुपर्छ ।’

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वन सुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको उक्त चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह गर्न ८ जना सशस्त्र वन सुरक्षा शाखाका कर्मचारी पालैपालो खटिएका छन् । उक्त चित्तलको बच्चाले दिनमा एकदेखि दुई लिटरसम्म दुध खाने गर्छ । दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको हुनाले खानाको परिमाण पनि दिनानुदिन बढेको हुँदा उसले खाने दुधको मात्रा पनि बढिरहेको हो । अहिले दुधले मात्र नपुगेर दालको झोल पनि खुवाइएको वनका एक कर्मचारीले बताए ।

बिहान र बेलुका गरी दिनमा दुईपटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने कार्यालय परिसरको सिमाना पूर्णरूपमा बन्द नभएका कारण दिउँसो कतै भागेर जान सक्ने भएको हुँदा दिनभरि केजमै राखेर हेरविचार गरिन्छ । उक्त चित्तलको बच्चालाई कुकुरले लखेटेपछि बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेपछि सामुदायिक वन उपभोक्ता समूहले खबर गरेर वन कर्मचारीले त्यसलाई उद्धार गरेका थिए ।

डिभिजन वन कार्यालय बाँकेका अजित कर्णले उक्त चित्तलको बच्चा सानैदेखि मान्छेसँग बस्न बानी परेकाले अब उसलाई आफ्नै प्राकृतिक बासस्थानमा छाड्न असुरक्षित भएको सुनाए । ‘यलाई मान्छेसँगै हिंडडुल गर्ने बानी परिसकेको छ, सुरुदेखि नै सशस्त्र वन रक्षक शाखाका कर्मचारीले यसलाई खुवाउने गरेको हुँदा शाखाको युनिफर्म लगाएकासँग विशेष घुलमिल भएको छ,’ उनले भने, ‘अब यसलाई पुनः निकुञ्जमा छाड्दा गाउँ बस्तीमा आउने र मान्छेको पछि लागेर जान सक्ने सम्भावना हुन्छ ।’

संरक्षणकर्मी कमल राईले वनमा रमाउने चित्तललाई धेरै समय मान्छेको परिवेशमा राख्दा उसले आफ्नो स्वभाव नै बिर्सिने खतरा बढ्ने बताए । आत्मरक्षा गर्ने सीपको विकास गर्न आफ्नै बासस्थान नै सुरक्षित हुन्छ,’ राईले भने, ‘लामो समय मान्छेको संगत भयो भने उसले आफ्नो गुण र स्वभाव बिर्सिने खतरा बढ्न सक्छ ।’

चित्तलको तीनवटा चुच्चा भएको सिङ हुन्छ, जुन प्रत्येक वर्ष फेरिने गर्छ । यिनीहरूको सिङ विणाको जस्तो आकारमा घुम्रिएको र करिब ७५ सेन्टिमिटर लामो हुने गर्छ । सामान्यतया एउटा वयस्क चित्तल औसत रूपमा ९० सेन्टिमिटर अग्लो हुन्छ भने तौल ८५ किलोसम्म हुन्छ । यिनीहरूको औसत आयु २० देखि ३० वर्षको हुन्छ ।

प्रकाशित : भाद्र १, २०८१ १६:५५
x
×