कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लुम्बिनीमा मुख्यमन्त्रीसहित ८ मन्त्रीले आज शपथ लिँदै

श्रावण ९, २०८१
लुम्बिनीमा मुख्यमन्त्रीसहित ८ मन्त्रीले आज शपथ लिँदै

Highlights

  • मन्त्रालय टुंगो नलागेपछि बिनाविभागीय जिम्मेवारी दिइँदै, कांग्रेसबाट ३ जनाले मात्र शपथ लिने सम्भावना

बुटवल — लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ मन्त्रीले आज शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनको बुटवलस्थित कार्यालयमा बिहान साढे ८ बजे शपथ ग्रहणका लागि तयारी गरिएको छ । 

एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्यमन्त्री आचार्यकै अनुरोधमा बुधबारका लागि शपथ ग्रहण तय गरिएको थियो ।

तर, मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गराउन लागिएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । २ मन्त्रालय साना दलका लागि राखिएको छ ।

मुख्यमन्त्री आचार्यका अनुसार एमालेबाट रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्दै छन् । त्यस्तै नेपाली कांग्रेसबाट प्यूठानका सरोज थापा, बाँकेका बादशाह कुर्मी, गुल्मीका धनेन्द्र कार्कीको मन्त्री बन्ने निश्चित भएको छ ।

बर्दियाका जन्मजय तिमिल्सिना र दाङका प्रचण्डविक्रम न्यौपाने पनि मन्त्री बन्ने सम्भावना छ । तर, उनीहरू दुवै जनाको विषयमा निर्णय हुन बाँकी रहेको कांग्रेस स्रोतले बतायो । दुई जनाको टुंगो नलागेकाले कांग्रेसबाट ३ जना मात्र बुधबारको शपथग्रहणमा सहभागी हुने सम्भावना छ ।

प्रकाशित : श्रावण ९, २०८१ ०७:५४
×