कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मजदुर भन्छन् : अब हामीलाई सरकारले पाल्नुपर्छ

असार १, २०७७
मजदुर भन्छन् : अब हामीलाई सरकारले पाल्नुपर्छ

Highlights

  • पाल्पाको रैनादेवी छहरा र बगनासकाली गाउँपालिकाका विपन्न बासिन्दा राहतको चामल सकिएपछि अब के खाने भन्ने चिन्तामा छन् । 

पाल्पा — रैनादेवी छहरा गाउँपालिका–४, मेहलढापकी विष्णु खत्रीले लकडाउनका कारण मजदुरीमा निस्कन पाएकी छैनन् । पहिले गिट्टी कुटेर घर चलाउँथिन् । झन्डै तीन महिनायता भने काम गर्न नपाउँदा चुलो बाल्नै समस्या भएको छ ।

‘घरमा खाने खर्च छैन, कसरी चुलो बाल्ने हो र ?,’ उनले भनिन्, ‘हामीलाई जस्तो समस्या कसलाई होला र ?’ खत्रीसँग न आफ्नो घर छ न कमाउने जग्गा । पति ५ वर्षदेखि बेपत्ता छन् । छोरा भारततिर छन् । नातिनातिनाका लागि पनि नकमाई हुँदैन । बुहारी सावित्रा खत्री निजी स्रोतमा विद्यालयमा सहयोगीका रूपमा काम गर्थिन् । तर विद्यालयले काम नगरेको समयको पैसा दिन नसक्ने जनाएको छ । महिनौंदेखिको घरभाडा तिर्न बााकी छ ।

बगनासकाली गाउँपालिका–१, घोरबन्दाका दिलबहादुर कुमाल चैत ९ पछि तानसेन बजारमा भारी बोक्न जान पाएका छैनन् । गिट्टी–बालुवा बोकेर दैनिक दुई/तीन सय कमाउँथे । श्रीमती र काखको बच्चाका लागि रासन ल्याउँथे । अहिले काममा जान पाएका छैनन् । ‘सधैं काम पाइन्छ भन्ने थिएन,’ उनले भने, ‘कहिलेकाहीँ रित्तै पनि घर फर्किनुपर्ने हुन्थ्यो ।’ उनका अनुसार पैसा बचत गर्न नसक्दा अहिले खाना जुटाउनै मुस्किल परेको छ । लकडाउनपछि गाउँपालिकाले दिएको २० किलो चामल, दाल, नुन, तेलबाट गुजारा गरेका थिए । अहिले त्यही पनि सकिएको छ ।

‘अब छिट्टै लकडाउन खुल्यो भने काम हुन्थ्यो,’ उनकी पत्नी सीताले काखको बच्चा देखाउँदै भनिन्, ‘नभए यो बच्चा, हामी सबै भोकै बस्ने होला ।’ कुमाल आजभोलि एक घण्टा हिँडेर माछा मार्न र घोँगी जम्मा गर्न जान्छन् । त्यही बेचेर थोरै खर्च जोहो गर्छन् ।

घोरबन्दकै ५७ वर्षीय मानबहादुर कुमाल घरमा एक्लै छन् । श्रीमती र छोराको निधन भइसक्यो । ‘गाउँपालिकाले दिएको चामल सकिन लागेको छ,’ उनले भने, ‘त्यसपछि भोकै बस्ने त होला खै ? ’ उनी पनि हिजोआज माछा र घोंगी पाइएला कि भन्दै खोलातिर जान थालेका छन् ।

‘पालिकाले दिएको राहत सकियो,’ भारी बोकेरै गुजारा गर्दै आएकी अर्की स्थानीय ज्ञानीसरा कुमालले भनिन्, ‘अब के खाने हो थाहा छैन ।’ चिर्तुङधाराको घोरबन्दामा सयभन्दा बढी कुमाल परिवार छन् । तिनमा ५० भन्दा बढी परिवार विपन्न छन् । उनीहरू दैनिक ज्यालादारी र श्रम गर्न तानसेन आउने गर्थे । अहिले तानसेन गए पनि रित्तै हात फर्कनुपरेको ज्ञानीसराले बताइन् ।

तानसेनको हुलाक चोकमा प्रायः बिहानै देखिने मजदुरको भिड यिनै घोरबन्दाका कुमालहरूकै हो । भारी बोक्ने, सामान ओसार्ने कामका लागि महिला/पुरुष नै तानसेन जान्छन् । ‘अहिले के गरम् र कसो गरम् भएको छ,’ दिलबहादुर कुमालले भने, ‘तर हामीलाई काम केही छैन । गाउँमा पनि काम पाइँदैन ।’ कतिपयले पाएको राहत सकिएपछि कनिका ल्याएर खाएका छन् । पहिला खाएकै ऋण तिर्न नसक्नेहरू पनि अहिले चिन्तित छन् । ‘हामीलाई अब सरकारले पाल्नुपर्छ,’ उनले भने, ‘लकडाउन खोलेर काम दिनुपर्छ, होइन भने फेरि पनि चामल, दाल, नुन, तेल दिनुपर्छ ।’

पानीको अभावका कारण उनीहरू तरकारी खेतीसमेत गर्न सक्दैनन् । स्थानीय सन्तोषी कुमालका अनुसार विपन्न परिवारको अवस्था नाजुक बन्दै गएको छ । ‘कतिपय ज्याला मजदुरी गरेर खाने परिवारलाई गाउँपालिकाबाट पाएको चामलबाट ठूलो राहत मिलेको छ,’ उनले भनिन्, ‘अब सकिन लागेकाले यस विषयमा पुनः सोच्नुपर्छ ।’

बगनासकाली, चिर्तुङधाराको घोरबन्दा, पोखराथोकका कुमाल बस्तीमा बढीजसो ज्याला–मजदुरी गरेर पेट पाल्नेहरू छन् । त्यस्तै यम्घाको दर्पुक, दैलातुङको बोटे बस्तीमा पनि विपन्न परिवार बढी छन् । बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले पहिलो चरणमा ९ वडाका ३ सय ८० विपन्न परिवारलाई राहत दिएको बताए । लकडाउनको अवस्था हेरी दोस्रो चरणको राहत व्यवस्थापन गर्ने योजना बनेको उनको भनाइ छ । ‘हामी बैठक बसेर ज्याला मजदुरी गर्ने र खानै नपाएकाहरूका लागि विपद् व्यवस्थापन राहत कोषमा पैसा रकमान्तर गरेर भए पनि समस्याको समाधान गर्छौं,’ उनले भने ।

प्रकाशित : असार २, २०७७ १०:४१
x
×