कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकीकृत समाजवादी बागलुङको अध्यक्षमा गौतम

भाद्र २९, २०८१
एकीकृत समाजवादी बागलुङको अध्यक्षमा गौतम

बागलुङ — नेपाल कम्प्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो ।

समितिको उपाध्यक्षमा वेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मालाई चयन गरेको छ । शनिबारको बैठकले उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगर चयन गरेको छ । साथै पार्टी हितविपरीत काम गरेको भन्दै पूर्वअध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरीसहित ७ जनालाई कारबाही गरेको छ ।

पार्टी छाडेर जाँदा कार्यालयको सम्पत्ति हिनामिना गरेको भन्दै तत्काल फिर्ता गराउन माग गरेको छ । दुई साताअघि तत्कालीन अध्यक्ष थापा र सचिव पुरी एमालेमा प्रवेश गर्दा पार्टी समायोजन भएको अभिव्यक्ति दिएर निर्णय पुस्तिका हस्तान्तरण गरेको बताएका थिए । तर, नेकपा एसले स्थापनाकालदेखिको निर्णय पुस्तिका पनि पार्टीमै रहेको गौतमले सार्वजनिक गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गौतमले पार्टीको सम्पत्तिलाई छाडेर गएका केही पदाधिकारीले व्यक्तिगत झैं लैजान नमिल्ने बताए । ‘पार्टीको जिल्ला कमिटी छ, प्रदेश र केन्द्रीय कमिटी छ, सम्पत्ति हिनामिना गर्न मिल्दैन,’ उनले भने, ‘तीन/चार वर्षदेखिको हिसाब पनि बुझाइएको छैन ।’

पत्रकार सम्मेलनमा सहभागीले आर्थिक संयोजकको रुपमा काम गरेका भूपाल चालिसेलाई पनि हिसाब बुझाउन आग्रह गरेका छन् । पार्टीको अडिट गर्ने बेलामा नगद हिसाब खाता र जिन्सी हिसाब खाता गायब बनाइएको गौतमले आरोप लगाए ।

‘डकैती शैलीमा सामान लैजान हुन्थेन, लगिएको छ’ कार्यक्रममा आएका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संयोजक श्रीनाथ बरालले भने, ‘पार्टीको धेरै संयन्त्र छन्, कसैले पार्टी छाड्दैमा सामग्री हिनामिना गर्न मिल्दैन ।’ पार्टी हितविपरीत गएकालाई कारबाही गरिएको उनले बताए ।

प्रदेश समितिका सदस्यलाई भने कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरेको हो ।

प्रकाशित : भाद्र २९, २०८१ १७:०५
×