कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

अन्नपूर्ण पदमार्गमा पर्यटक बेपत्ता

भाद्र ११, २०८१

कास्की — अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

भुरुङदी खोलाको पुलनजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए ।

‘पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ,’ प्रवक्ता गुरुङले भने ।

चेकपोस्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जनाए । उनीहरु बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको उनले बताए ।

‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छ,’ गुरुङले भने । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरा छेउमा दुई वटा स्टिक (लौरी) भेटिएको छ ।

आज गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी एक्यापले जनाएको छ । प्रवक्ता गुरुङका अनुसार पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०८:५३
x
×