कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

सहकारीको कार्यालयबाट रकम चोरी

भाद्र ९, २०८१
सहकारीको कार्यालयबाट रकम चोरी

काठमाडौँ — भीमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख २८ हजार तीन सय ३५ रुपैयाँ चोरी भएको छ ।

शनिबार राति सहकारीबाट रकम चोरी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । ‘ताल्चा खोलेर सहकारीबाट रकम लगेको पाएका छौँ, घटना शंस्कास्पद देखिन्छ, हामी अनुसन्धानकै क्रममा छौँ,’ उनले भने ।

आइतबार बिहान सहकारीबाट रकम चोरी भएकोबारे स्थानीयबाट जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । ‘इन्ट्री’ गर्न बाँकी रहेको ऋण असुली र दैनिक बचतको रकम चोरी भएको सहकारीकी अध्यक्ष विनु वाग्लेले बताइन् ।

‘तीन जना ऋणीको रकम र केही जम्मा भएको खुद्रा नोटहरु घर्रामा रहेछ,’ उनले भनिन्,‘राति पानी पनि परेको, लाइन पनि गएको मौका छोपी मेन गेटको भेन्टिलेसनबाट छिरेर चोरी भएको देखिन्छ ।’ बिहान खेतमा जान लागेका कर्मचारीले ढोकामा चाबी झुण्डिरहेको देखेपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

‘भित्र एक सेट चाबी रहेछ, भेन्टिलेसनबाट भित्र छिरेपछि त्यही चाबी प्रयोग गरेको हुनसक्छ,’ उनले भनिन्, ‘ऋण असुलीको रकम महिनाको ८ गते भित्र बुझाउनुपर्ने हुन्छ, ९ गते बैठक बसेर १० गतेबाट लगानी सुरु हुन्छ, त्यही बीचको मौका छोपेर चोरी भएको देखिन्छ,’ उनले भनिन् ।

सहकारीमा भएको चोरीबारे आइतबार बिहानै प्रहरीलाई मौखिक खबर भइसकेको उनले बताइन् । औपचारिक रुपमा लिखित उजुरी दिने तयारीमा रहेको पनि उनले बताइन् ।

प्रकाशित : भाद्र ९, २०८१ २०:०७
x
×