कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बागलुङका चार मुख्य सडक दुई महिनादेखि ठप्प

भाद्र ३, २०८१
बागलुङका चार मुख्य सडक दुई महिनादेखि ठप्प

बागलुङ — मनसुन सुरु भएदेखि नै बागलुङका चार महत्त्वपूर्ण सडक पहिरोले ठप्प छन् । सडक अवरुद्ध भएर यातायातका साधन नचल्दा स्थानीयले सास्ती खेपेका छन् । कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक, जैमिनीदेखि बरेङ सडक र काठेखोलादेखि लेखानी हुँदै गलकोट जाने सडक दुई महिनादेखि ठप्प भएका हुन् ।

रोकिएका सडक खुलाउने प्रयास नगरिँदा किसानले तरकारी र दूध बेच्न पाएका छैनन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । सडक बन्द हुँदा बजार मूल्यको तुलनामा ग्रामीण क्षेत्रका बासिन्दाले उपभोग्य बस्तु महंगोमा किन्न बाध्य भएका छन् ।

दैनिक सयौं लिटर दूध र तरकारी बागलुङ बजार पठाउने जैमिनीका किसानले केही दूध पर्वततर्फ पठाउने गरेका छन् भने केही घरमै खेर फालेका छन् । बजार नपाएर तरकारी बारीमै कुहिएर गएको लेखानीकी किसान लालमाया पुनले गुनासो गरिन् ।

कालीगण्डकी करिडोर असारको १४ देखि बन्द भएकामा अहिलेसम्म खुलेको छैन । असार मसान्तमा एक दिन खुलेकामा तत्कालै सडक बगेर अवरुद्ध भएको थियो । त्यसपछि यो सडक खुलाउने प्रयास समेत भएको छैन । करिडोर अवरुद्ध हुँदा बागलुङदेखि बलेवा, जैमिनी, बरेङ हुँदै गुल्मीतर्फको यात्रा ठप्पै छ । त्यसबाहेक यहाँकै मालढुंगा कुश्मीसेरा सडक पनि बन्द छ ।

यो सडकको एक्लेसालमा खसेको पहिरो दुई महिनादेखि पन्छाइएको छैन । पानी पर्नासाथ हरेक दिन पहिरो खस्ने भएकाले बनाएर पनि कामै नभएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । ‘पटकपटक प्रयास गरियो, तर सम्भव नभएपछि छाडिएको हो,’ खड्काले भने, ‘सदरमुकाम आउजाउ गर्ने नगारिकले सास्ती खेपेका छन्, तर केही गर्न सकिएन ।’ यो पहिरो पन्छाउन गत वर्ष नगरपालिकाले ५० लाख खर्चेको थियो । यो वर्ष त्यति नै खर्च हुने तर पहिरो नियन्त्रण नहुने देखेपछि खर्च गर्ने प्रयास नगरेको हो ।

चार वर्षअघिदेखि खसेको पहिरोले एक्लेसालमा झण्डै डेढ किमि लम्बाइ र ५ सय मिटर चौडाइको जमिन, जंगल र खेत बगाएको छ । यो पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङ बस्ती जोखिममा परेको छ । यहाँका आधा दर्जन घर पटक–पटक विस्थापित भैसकेका छन् । कुखुरा फर्म संचालन गरेका किसानले पनि पहिरोकै कारण छाड्न बाध्य भएको गुनासो गरे । कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियर सुरेन्द्र गौतमले सम्भव हुने स्थानमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भएको बताए । उनले सानो लगानीले सम्भव नभएको स्थानमा काम गर्न नसकेको बताए ।

जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारदेखि बरेङ गाउँपालिका जाने सडकको ठेउले खोलामा निर्माणाधीन पुल नबन्दा असारदेखि सडक अवरुद्ध छ । ठेकेदारले डाइभर्सन नबनाएको, पुल पूरा नगरेको र सामग्री जथाभावी थुपार्दा यो सडक रोकिएको हो । यो सडक नखुल्दा जैमिनीका मुकामदेखि वडा ९ र १० का गाउँ जाने यात्रुले दुःख पाएका छन् । बरेङ गाउँपालिका प्रवेश गर्ने नाका नै बन्द भएको हो । ‘आफ्नै घर जान पनि सकेको छैन,’ जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले भने, ‘सदरमुकामको कार्यक्रममा भाग लिन चारवटा पहिरोको जोखिम मोल्दै, पैदल हिँडेर आइपुगें ।’

पुनको घरबाट पालिकाको मुकाम आउन दुई वटा पहिरो र खोला तर्नुपर्छ भने सदरमुकाम आउन पनि यातायात नचलेपछि बलेवादेखि झोलुंगे पुल तरेर पर्वतको कुश्मा हुँदै बागलुङ आएको उनले बताए । यसरी यात्रा गर्दा पहिला ३ घण्टामा यात्रा गर्ने दक्षिण बागलुङबासीले काम पर्दा एक दिनअघि नै सदरमुकाम हिँडेर आएपछि होटलमा बस्न बाध्य भएको गुनासो गरे ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक भनिने गरेको काठेखोला गाउँपालिकाको मुकाम बिहुँदेखि वडा ६ कै अधिकांश भूगोल र वडा नं. ८ हुँदै गलकोट नगरपालिका प्रवेश गर्ने सडकमा खसेका दुई वटा ठूला पहिरो नियन्त्रण नहुँदा सयौले सास्ती खेपेका छन् । लेखानी गाउँका बासिन्दाले त ३० मिनेटको बाटो हिँड्न नपाएर दुई घण्टा घुमाउरो बाटो हिँडेर पालिकाको काम लिन बाध्य भएको बताए । ‘दैनिक पालिकामा जानुपर्छ, हिँड्नु पर्दा हैरान भएको छु,’ वडा ८ का अध्यक्ष प्रमानन्द कँडेलले भने, ‘पहिरोले जनताले सास्ती भोगेको कसैले देखेनन् ।’

गाउँपालिकाले भने ग्याबिन जाली लगाएर पहिरो पन्छाएपछि सडक खुलाउन प्रयास गरिरहेको अध्यक्ष राजु थापाले बताए । तर यो सडक खुल्न अझै साता बढी लाग्ने अनुमान छ । सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय लगायतले भने बजेट नभएको भन्दै तर्केपछि असारको ६ देखि नै यो सडक ठप्पै भएको हो । यहाँको भुँदीखोला पहिरोले त सिरिमपाटा भन्ने बस्तीका २५ घर जोखिममा परेका छन् ।

सदरमुकामदेखि दक्षिणतर्फका कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडकको सास्तीपछि स्थानीयले पहिरो छलेर पर्वतको सहश्रधाराबाट कालीगण्डकी नदीमा पुल बनाउन पहल गरेका छन् । ‘चार–पाँच वर्षदेखिको सास्ती अब कति खेप्ने ?’ गण्डकी प्रदेश सभाका सांसद कृष्ण पाठकले भने, ‘चालु वर्ष प्रदेश सरकारको ५ करोड विनियोजनबाट काम थाल्ने र केही वर्षमा पुल बनाइसक्ने गरी काम गर्दैछौं ।’ पहिरोको बाटो हेर्ने हो भने वर्षौं पनि सडक चलाउन नसकिने अवस्था देखिएको उनले बताए ।

प्रकाशित : भाद्र ३, २०८१ १६:१७
x
×