कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

‘काली बसन्ती’ कुकुर नियन्त्रणमा

श्रावण ५, २०८१
‘काली बसन्ती’ कुकुर नियन्त्रणमा

बागलुङ — एक महिनामा १६ जना भन्दा धेरै मानिसलाई टोकेपछि यहाँको ‘काली बसन्ती’ कुकुरलाई बागलुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका-४ को ओडारचौर गाउँमा मात्रै एकमहिना देखि उक्त कुकुरले आतंक मच्चाएको हो । बाटो हिड्ने जो सुकैलाई टोक्ने, लखेट्ने गरेपछि गाउँले त्रसिद भएका थिए । 

शुक्रवार नगरपालिकाको पशु विकास शाखाका प्रमुख मित्रलाल सापकोटा सहितको टोली पुगेर कुकुर नियन्त्रणमा लिएको हो । शुक्रबार पनि उक्त कुकुरले ८ वर्षीय बालकलाई टोकेर गम्भीर घाइते बनाएको थियो । हातको पाखुरामा हड्डी समेत चर्किने गरी मासु निकालेपछि बालकलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पुर्‍याइएको छ ।

नियन्त्रणमा लिएको उक्त कुकुरलाई बागलुङ नगरपालिकाले सुरक्षा दिएर राखेको छ । यस्ता दर्जनौं घटनाले बागलुङ बजारमा कुकुरको आतंक बढेको छ । हरेक महिना विभिन्न टोलमा कुकुरले टोकेको बिरामी अस्पताल पुग्ने गरेका छन् । ती कुकुरको पनि पहिचान गरेर नियन्त्रणमा लिने तयारी नगरपालिकलो गरेको पशु विकास शाखाका प्रमुख सापकोटाले बताए ।

अघिल्लो वर्षदेखिनै यस्ता समस्या आएपछि बागलुङ नगरपालिकाले ‘कुकुर सेल्टर हाउस निर्माण परियोजना’ शुरु गरिसकेको छ । भदौ मसान्त भित्र उक्त परियोजनाको प्रारम्भिक प्रयोग गरिने तयारी रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बानपा ३ मा जग्गा खरिद गरेर नगरपालिकलो तत्काल ५० वटा कुकुर राख्ने गरी ३ वटा ट्रस्ट बनाइसकेको हो । उक्त स्थानमा तारबार लगाउने तयारी छ ।

संरक्षणमा राखिएक कुकुरको खानपानको जिम्मा समेत नगरले गर्नेछ । ‘टोक्ने कुकुरलाई धेरै मानिसले ढुंगा हान्ने पनि गर्छन्, त्यसले उनीहरु झन रिसाहा बनेर मानिसमा झम्टने गर्छन्,' सापकोटाले भने, ‘जोखिममा परेका कुकुरबाट पनि मानिसमा आक्रमणको खतरा हुन्छ ।’ नगरपालिकाले चालु वर्षको बजेटमा पनि कुकुर सेल्टरका लागि बजेट विनियोजन गरेको छ ।

कुकुरले लखेट्दा केही समयअघि मोटरसाइकल चालकको समेत दुर्घटनामा मृत्यु भएको थियो । बिहान बेलुकी घुम्न निस्केकाहरुलाई पनि कुकुरबाट जोखिम हुने गरेको हो । नवप्रवर्द्धन कार्यक्रम अर्न्तगत मुख्यमन्त्री कार्यालयको साझेदारीमा नगरपालिकाले १ करोड लागतमा सेल्टर बनाउन लागेको हो । नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गर्ने सम्झौता भएको छ ।

भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापन नगरे थप जोखिम बढ्ने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नु परेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोप समेत दिएको छ । कुकुरका लागि चाहिने सबै खाले औषधि पनि नि:शुल्क गरिएको हो ।

घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान समेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । दर्ता गरेका कुकुरलाई नगरले खोप र औषधि सेवा नि:शुल्क दिनेछ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्नेछ । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए निलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था शुरु भएको छ ।

प्रकाशित : श्रावण ५, २०८१ १७:४०
x
×