कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वित्तीय अपराधप्रति प्रहरी गम्भीर : आईजीपी कुँवर

पुस २२, २०८०
वित्तीय अपराधप्रति प्रहरी गम्भीर : आईजीपी कुँवर

पोखरा — प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मुलुकभर वृद्धि भइरहेको आर्थिक अपराधप्रति नेपाल प्रहरी अत्यन्त गम्भीर रहेको बताएका छन् । एकपछि अर्को सहकारी ठगीका घटना बाहिर आइरहेका बेला पोखरामा आइतबार गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले आर्थिक अपराध अनुसन्धान गर्न विशिष्टिकृत ब्युरो स्थापनाको गृहकार्य भइरहेको बताए ।

‘देशका अन्य स्थान सरह गण्डकी प्रदेशमा पनि हाल बैंकिङ कसुर र वित्तीय अपराधको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइन्छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दाहरु २ सय प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘आम नागरिकका व्यक्तिगत जीवनस्तरसँग मात्र सम्बन्धित नभइ सिंगो राष्ट्रिय अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पुर्‍याउने जोखिम प्रक्षेपण गरिएकोले नेपाल प्रहरी यस विषयमा अत्यन्त गम्भीर रहेको छ ।’

आर्थिक अपराधहरुसँग सम्बन्धित कसुरहरुको अनुसन्धान गर्न सुसज्जित एवं विशिष्टिकृत आर्थिक अनुसन्धान समूहको टड्कारो आवश्यकता प्रहरीको पहिचान गरेको उनको भनाइ थियो । ‘नेपाल प्रहरीले आर्थिक अपराधसँग सम्बन्धित अपराधहरुको अनुसन्धानको लागि विशिष्टिकृत ब्युरो स्थापनाको लागि गृहकार्य थालनी गरिसकेको छ,’ उनले भने ।

उनले पर्यटनका माध्यमबाट गण्डकी प्रदेश विश्वभर चिनिएको बताउँदै यहाँ प्रवाह हुने सेवा र अपराध अनुसन्धान क्षेत्रीय र विश्वस्तरमा समेत चासोको विषय हुन सक्ने उल्लेख गरे । उनले भने, ‘यदी हामीले अन्तर्राष्ट्रिय पुलिसिङ मापदण्डको स्तर कायम राख्नबाट चुक्यौं भने यसले नेपालमा मात्रै नभै विश्व सामु नेपालको छविमा असर पुर्‍याउँछ ।’

अबका दिनमा देखापर्न सक्ने चुनौतीमध्ये साइबर अपराध, लागुऔषध सम्बन्धी कसुर, सामाजिक कसुरमा वृद्धि रहेको उनको भनाइ थियो । विगतको वर्षमा भन्दा यस वर्ष गण्डकीमा लागूऔषध सम्बन्धी मुद्दामा २२ प्रतिशतले कमि आए पनि यसलाई अझैं न्यूनीकरणका लागि लागूऔषध कारोबारीका सञ्जाललाई ध्वस्त पार्न जरुरी देखिएको उनले बताए । उनले भने, ‘यो अवस्थामा अपराध र अपराधीको सामना गर्न क्षमता र दक्षता अभिवृद्धि गर्दै लैजानु आवश्यक भइसकेको छ ।’

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको गोष्ठीमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले प्रहरीले अभाव, दबाब र प्रभावबाट मुक्त रहेर काम गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित : पुस २२, २०८० १९:४२
×