कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

बाटुली पोखरीमा बच्चा हुर्काउँदै घोगीफोर गरुड [तस्बिरहरू]

भाद्र १८, २०८१
बाटुली पोखरीमा बच्चा हुर्काउँदै घोगीफोर गरुड [तस्बिरहरू]

चितवन — बाटुली पोखरी वरिपरि सुकेका रुख प्रशस्तै छन् । ती रुखका हाँगैपिच्छे घोगीफोर गरुडका छपक्कै गुड देखिन्छन् । पोखरीको किनारबाटै ती गुँडहरूमा हुर्कंदै गरेका बचेराको चहलपहल देखिन्छ । घोगी फोरेर खाने भएका कारण नामै घोगीफोर भएको यो चरा आहारा लिएर गुँडनजिक आउँदा बचेराहरू मुख बाइरहेका हुन्छन् । एउटै रुखमा १९ वटासम्म गुँड छन् ।

भरतपुर महानगरपालिका–१३ मा पर्छ बाटुलीपोखरी । सदरमुकामदेखि दक्षिणको वनक्षेत्रमा रहेको तालमा चराका छपक्कै गुँडहरू देखेर घुम्न आउनेहरू छक्क पर्छन् । मंगलबार वडा नं. १३ को कार्यालयले उक्त ठाउँमा ताल संरक्षण र चराहरूको जगेर्नाका बारेमा छलफल गरेको छ । चराविज्ञहरूको एउटा टोली नै अनुगमनका लागि त्यहाँ पुगेको थियो । चरा विज्ञको टोलीले घोगीफोरको त्यहाँ रहेका गुँड गनेर तिनको अवस्था हेरे ।

‘बच्चा हुर्कंदै गरेका गुँडहरू ३९४ वटा रहेछन् । १५ वटा गुँडमा ओथारो बसेको पाइयो । एउटा गुँड खाली थियो,’ अनुगमनका संलग्न नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले भने ।

यो चराको गुँडमा सामान्यतया चार वटासम्म बच्चा हुन्छन् । तर एउटा गुँडमा पाँच वटासम्म बच्चा देखिएको उनले बताए । यो चरा तराई क्षेत्रको रैथाने हो ।

‘मेचीदेखि महाकालीसम्म तराईको भूभागमा पाइन्छ । समुन्द्र सतहदेखि सात सय मिटर उचाइसम्मको भूगोलमा यो देखिएको छ,’ हठनले भने । यसको मुख्य आहारा घोगी र गँगटा हो । माछा, भ्यागुता र साना सर्पसमेत खाने गर्छन् । यसले धेरै समय खेतबारीमा बिताउँछ । तर, खेतबारीमा विषादी प्रयोग बढेका कारण यो चरामाथि संकट थपिएको छ भन्छन् उनी । यसले जुन महिनादेखि गुँड लगाउन सुरु गर्छ ।

जुलाइमा अण्डा पारेर ओथारो बस्न सुरु गर्छ । सेप्टेम्बरभित्र बच्चा हुर्काइ सक्ने गर्छ । कहिलेकाहीं अक्टुबरको सुरुवातसम्म पनि बच्चा उडिसकेका हुँदैनन् भन्छन् हठन । ‘यस्ता पोखरीका रहेका सुकेका रुख उनीहरूका लागि गुँड लगाउन उपयुक्त हुन्छ । किनकि यो ठाउँ सुरक्षित हुन्छ । अण्डा बच्चा खाने मलसाप्रो जस्ता शत्रुजीव पानीबाट त्यहाँ जान सक्दैनन् । त्यसैले यस्तो पानी भएको ठाउँको रुख खोजेर गुँड लगाउँछ,’ हठनले भने ।

बरण्डाभार वनभित्र रहेको बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन स्थानीयले वि.सं. २०५७ सालदेखि संरक्षण गर्दै आएका हुन् । सोही वनभित्र रहेको एउटा घोलमा जम्मा हुने पानी बर्खायाममा भरतपुर–१३ कै अर्को गाउँ गंगानगरका बासिन्दाले धान रोप्न कुलो बनाएर लैजान्छन् । सोही घोलको दक्षिणी किनारमा २०६३ सालमा अग्लो बाँध बनाएपछि तालको रूप र आकार फैलन थाल्यो । अहिले घटीमा २० बिघामा ताल फैलिएको बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कृष्णहरि प्रसाईंले बताए ।

तीन चार वर्षयता घोगीफोरले गुँड लगाउन सुरु गरेको उनले बताए । गुँडको संख्या बर्सेनि बढ्दो छ । ‘तर तालमा पनि अनेक खाले झारहरू आउँछन् । अलिमाथि जलकुम्भी छपक्कै हुन्छ । यही जलकुम्भी हेर्न पनि मान्छेको भीड लाग्छ । तर यो जलकुम्भीले संकट ल्याउने हामीलाई डर छ । ताललाई कसरी जीवन्त राख्ने, चराहरूको राम्रो बासस्थल बनाउने भन्नेबारेमा हामीलाई विज्ञहरूले सल्लाह दिनु पर्‍यो,’ उनले भने ।

भरतपुर महानगरपालिका–१३ का वडाध्यक्ष प्रकाश दवाडीले बाटुलीपोखरी महानगरको राम्रो पर्यटकीय गन्तव्य बन्दै गएको बताए । ‘यहाँ चराहरूको आकर्षण बढ्दो छ । जाडोयाममा आगन्तुक चराहरू पनि छपक्कै हुन्छन् । पर्यटन विकास गर्दा यो पक्षलाई जोगाउन आवश्यक छ । खेतीपातीमा हुने विषादी प्रयोगले चरालाई संकट थपिएको छ । यी सबै कुरा ख्याल गरेर हामीहरू पोखरी र चरा जोगाउन लाग्नु छ,’ वडाध्यक्ष दवाडीले भने ।

बाटुली पोखरी महत्त्वपूर्ण सीमसार भएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरे बताउँछन् । ‘सीमसारको महत्त्व ठूलो छ । बाटुलीपोखरीमा चरादेखि अन्य जीव प्रशस्तै देखा पर्न थालेका छन् । तर बाटुली पोखरीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । फोहरमैलाको व्यवस्थापनदेखि कृषिमा विषादीको समस्या हटाउन समुदायलाई जागरुक बनाउन आवश्यक छ,’ घिमिरेले भने ।

प्रकाशित : भाद्र १८, २०८१ २१:०९
x
×