कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

रित्तिँदै गाउँ : ४ जना जम्मा भएपछि बल्लतल्ल उठ्यो शव

भाद्र १७, २०८१
रित्तिँदै गाउँ : ४ जना जम्मा भएपछि बल्लतल्ल उठ्यो शव

सिन्धुली — बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो ।

तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो ।

केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष युवराज पहाडीले बताए । बिरामी कृष्णमायाको निधन भएपछि उनका छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र अर्का एक जनाले डेढ घण्टा शव बोकेर वाक्सुखोलामा रहेको घाटसम्म पुर्‍याएका थिए । वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुन् । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् । ‘घाट टाढा छ, गाउँमा शव उठाउने पनि मान्छे भएनन्,’ वडाध्यक्ष पहाडीले टेलिफोनमा भने, ‘यस्तो अवस्था देख्दा दुःख लाग्छ, अब हामी मरे पनि घाटसम्म लगिदिने मानिस कोही नहुने भए ।’

गाउँबाट घाट टाढा भएकाले त्यहाँसम्म शव पुर्‍याउन पालैपालो ‘काँध फेर्ने’ चलन छ । स्थानीयका अनुसार शव उठाइसकेपछि घाटसम्म नपुर्‍याइन्जेल बीच बाटोमा राख्न र बिसाउन नमिल्ने मान्यता रहँदै आएको यहाँका वृद्धहरू बताउँछन् ।

सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताए । ‘एक त गाउँ रित्तिँदै छ,’ उनले भने, ‘त्यसमाथि यस्ता रुढीवादी संस्कारले झन् ठूलो समस्या ल्याएको छ ।’

स्थानीय काशीराज दाहालका अनुसार पहिला गाउँमा जुनसुकै जातका पनि टन्न मानिस हुन्थे । अर्मपर्म र मृत्यु संस्कारमा छिमेकी गाउँबाट समेत मानिसहरू जम्मा हुन्थे । ‘अहिले बिस्तारै गाउँ रित्तिँदै छ,’ उनले भने, ‘अहिले आएर शवलाई काँध दिने आफन्त तथा छिमेकीसमेत पाउन मुस्किल भयो ।’

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर आफूले जान्दासमेत अहिलेसम्म यस्तो नभएको बताए । गाउँ रित्तिँदै गएको कुराले आफू झस्किएको उनको भनाइ छ । ‘आफ्नो जातबाहेक अन्यले शव छुन नहुने पुरानो परम्परालाई परिमार्जन गर्ने बेला आएको छ,’ उनले भने, ‘आवश्यकतासँगै अब धेरै कुरा परिवर्तन गर्दै लैजानु जरुरी छ ।’

प्रकाशित : भाद्र १७, २०८१ १९:३१
x
×