कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

बेथानचोकको हात्तीढुंगामा आगलागीबाट गाईगोठ जल्यो, करिब ९ लाखको क्षति

भाद्र ९, २०८१
बेथानचोकको हात्तीढुंगामा आगलागीबाट गाईगोठ जल्यो, करिब ९ लाखको क्षति

काभ्रे — काभ्रेपलाञ्चोक जिल्ला स्थित बेथानचोक गाउँपालिका वडा नम्बर-१, हात्तीढुंगामा आगलागीबाट गाईगोठ जलेर नष्ट भएको छ । आइतबार बिहान २ बजे बेथानचोक गाउँपालिका वडा नम्बर-१ हात्तीढुंगाका गोविन्द घिमिरेको गाईगोठमा आगलागी भएको बेथानचोक गाउँपालिका वडा नम्बर- १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए । 

खुवा बनाउने पसलबाट सल्किएको आगो सँगै जोडिएको गाईगोठमा समेत लागेर गोठमा रहेको गाई १ वटा, गाईको बाच्छो १ वटा, भैंसीको पाडी १ वटा जलेर मृत्यु भएको च्याम्राङवेशी–ढुंखर्क प्रहरी चौकीका इन्चार्ज रमेश साह कानुले जानकारी दिए । उनका अनुसार, गोठमा रहेका अन्य पशुचौपायलाई भने जीवित नै उद्धार गरिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

आगलागीमा गाईगोठ र पसलमा रहेका भाँडाकुडाँ, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब ९ लाख ४५ हजार रुपैयाँबराबरको क्षति भएको उनले बताए । उनका अनुसार, बिहान २ बजेबाट सुरु भएको आगलागी स्थानीयहरूको सहयोगमा बिहान ५ः४५ बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट पीडित परिवारलाई राहत विवरण गर्नको सामग्री बोकेर घटना स्थलमा जाँदै गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए ।

प्रकाशित : भाद्र ९, २०८१ ११:५०
x
×