कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पुतली पछ्याइरहेका टेकबहादुर र कपिल

भाद्र ३, २०८१
पुतली पछ्याइरहेका टेकबहादुर र कपिल

चितवन — पुतली देखेर नरमाउने को होला र ? चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक डुलाउने पुराना नेचर गाइड टेकबहादुर गुरुङ भन्छन्, ‘विदेशी पर्यटक कोही त पुतली मात्रै हेरौँ भनेर पनि आउँछन् । नभए पनि पुतली देखेपछि त्यसका बारेमा गहिरो रुचि राख्छन् ।’

टेकबहादुरलाई सुरुमा पुतलीबारे खासै जानकारी थिएन । औपचारिक शिक्षा पनि धेरै नलिएका गुरुङले पर्यटकलाई कसरी यसका बारेमा बुझाउने ? यो उनका लागि चुनौतीपूर्ण थियो । तर उनले पुतलीका बारेमा भएका र भेटेका सबै जानकारी बटुल्दै गए । देखेजतिका पुतलीका फोटो खिच्न सुरु गरे ।

१० वर्ष यसमा केन्द्रित भएर लागेका गुरुङलाई अर्का साथी कपिलप्रसाद पोखरेलले पनि साथ थिए । कपिल पनि पहिला नेचर गाइड नै थिए । पछि वन्यजन्तु प्राविधिक भएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा लामो समय काम गरे । त्यही बेला अरु जीव-जनावरसँगै पुतलीका तस्बिर खिचे ।

यी दुईले पुतलीका तस्बिर मात्रै हैन, धेरै खाले जानकारी पनि बटुले । उनीहरुले निधो गरे, ‘यो जानकारी सार्वजनिक गर्नु पर्दछ । त्यसैले किताब निकालौं ।’ नेपालमा पुतलीका बारेमा थोरै किताब प्रकाशित छन् । त्यसमा पनि नेपालीले नै लेखेका किताब अझै कम छन् ।

उनीहरुसँग किताबलाई पुग्ने तस्बिर र विवरणहरु प्रशस्तै भए । वन र वन्यजीवसँग लामो संगत गरेका कारणले मात्रै उनीहरुले यी विवरणहरु जुटाएका थिए । ‘हामी कामका हिसाबले अनुभवी भइयो । तर विद्वान् हैनौं । हामीले मात्रै किताब निकाल्दा त्रुटि होला कि भन्ने लाग्यो र साक्षी बस्न एक जनाको सहारा खोज्यौं,' कपिलले भने ।

त्रिभुवन विश्वविद्यालयबाट जीवशास्त्रमा एमएस्सी गरेका किरण थापा मगर उनीहरुलाई सहयोग गर्न तयार भए । यसरी १६० पेजको चिल्लो कागजमा रंगीन फोटोसहितको ‘फिल्ड गाइड, बटरफ्लाइज अफ चितवन, नेपाल’ नामको किताब तयार भयो ।

तीन जनाकै नाम राखेर सो पुस्तक हालै सार्वजनिक भयो । यो किताबमा ३१२ वटा पुतलीका रंगीन चित्र र उनीहरुबारेका जानकारीहरु समेटिएका छन् । ‘यसो हेर्दा पर्यटक घुमाउने नेचर गाइडका लागि मात्रै हो कि भन्ने पनि लाग्ला तर यो किताब जीव विज्ञानका बारेमा रुचि राख्ने, पुतलीका बारेमा बुझ्न खोज्ने पत्रकार, अध्ययन अनुसन्धानकर्ता र विद्यार्थी सबैका लागि उपयोगी छ,' टेकबहादुरले भने ।

टेकबहादुर राप्ती नदी तरेर जानु पर्ने चितवन निकुञ्जभित्र रहेको बस्ती सौराहादेखि दक्षिणको पदमपुर गाउँमा वि.सं. २०१७ को वैशाखमा जन्मेका हुन् । सौराहा आएर उनले वि.सं. २०४९ देखि पर्यटक डुलाउने गाइड पेसा अपनाए । आफ्नो औपचारिक शिक्षा कक्षा सातसम्म हो भन्छन् उनी । तर तालिम र विदेशी पर्यटकको संगतले उनी अंग्रेजी बोल्न, बुझ्न र पढ्न पनि सक्षम हुँदै गए ।

सरकारले पदमपुरलाई स्थानान्तरण गरेर राजमार्गदेखि उत्तर जुटपानी आडमा नयाँ बस्ती बसाल्यो । तर टेकबहादुर त्यता गएनन् । उनको घर अहिले रत्ननगर नगरपालिका–६ बछौली सौराहामा छ । निरन्तर पथप्रदर्शक गर्दै आएका टेकबहादुरलाई बेलाबेलामा खास गरेर विदेशी पर्यटकले पुतलीका बारेमा सोध्दा नाजवाफ हुनु परेको थियो । एक पटक उनी चितवनमा चरा हेर्न आएका दुई जना विदेशी पर्यटकलाई लिएर काठमाडौंसम्म गए ।

काठमाडौंमा ती विदेशी पुतली देखेर निकै रमाए । आफूहरुले निकै दुर्लभ पुतली देख्न पाएको उनीहरुले सुनाउँदा टेकबहादुर छक्क परे । ‘यो आजभन्दा २० वर्षअघि काठमाडौंमा भएको कुरा हो । ती विदेशीहरुले जुन पुतलीलाई दुर्लभ भनेर रमाइरहेका थिए, त्यो त मैले चितवनमा धेरै देखेको थिएँ । त्यो घटनापछि मलाई पुतलीका बारेमा जान्न, बुझ्न उत्सुकता बढ्दै आयो,' टेकबहादुरले सुनाए ।

पुतलीका बारेमा बुझ्दै गहिरिदै जाँदा उनले बाघ, गैंडा र अन्य ठूला जीव जनावरका बारेमा धेरैले चासो राखे पनि पुतलीका बारेमा कमैले ध्यान दिएको पत्तो पाए । ‘जुन वनमा बाघ छ, त्यहाँको पर्यावरण र इको सिस्टम राम्रो र स्वस्थ छ भनेर बुझ्नु पर्दछ ।

पुतलीका हकमा पनि त्यही नै हो । पानीको राम्रो स्रोत भएको, विविध खाले वनस्पति भएको ठाउँमा धेरै पुतली हुन्छन् । तर बाघको जस्तो चासो पुतलीको कसले राख्ने ?' उनले भने । वनजंगल, घरगाउँ, सहरबजारका गल्ली जहाँ देखिन्छन्, उनले पुतलीका फोटोहरु खिच्न थाले । तिनका बारेमा बुझ्न विभिन्न सामग्रीहरुको सहयोग लिए ।

‘चितवनका पुतलीका बारेमा अलि पुरानो विवरण टाइगर टप्स जंगल लजले निकालेको रहेछ । त्यसमा त्यस्तै सय जति पुतलीको विवरण छ,’ उनले भने । नेपालमा ‘पुतली बाजे’का नामले परिचित कोलेन स्मिथले चितवनमा पाइने २४७ वटा पुतलीहरुको विवरण राखेको गुरुङले बताए ।

कपिलप्रसाद पोखरेल वि.सं. २०१९ असारमा जन्मेका हुन् । उनले वि.सं. २०४० देखि नेचर गाइडको पेसा अपनाए । नौ वर्ष नेचर गाइड गरेका उनले बीचमा यो काम छाडेर वि.सं. २०५० देखि राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयमा वन्यजन्तु प्राविधिकका रुपमा काम सुरु गरे ।

उनको जिम्मेवारी भनेको जीवजनावरहरुको अभिलेख राख्ने थियो । टेकबहादुरको जस्तै उनको पनि औपचारिक शिक्षा धेरै छैन । तर अनुभवका आधारमा काममा भिज्दै गएको उनले बताए । ठूला जीव जनावरका बारेमा सबैको चासो हुन्थ्यो । देख्दा सुन्दर, अकारमा सानो र संवेदनशील देखिने पुतलीको सोधीखोजी कसैले नगरे पनि उनी आफैंले पुतलीका तस्बिरहरु खिच्दै गरे ।

एक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयले तीन महिनाका लागि चुरे क्षेत्रमा जीवजनावरहरुको सर्भे गर्ने भयो । त्यहाँ टेकबहादुर र कपिलसँगै भए । चिनजान पुरानै थियो । तर त्यो भेटले पुतलीकै क्षेत्रमा केही प्रभावकारी काम गर्ने निचोडमा दुवै जना पुगे । त्यसपछि जंगल सफारी, जंगल वाक, डुंगा सफारी जहाँ भेटिन्छ, पुतलीको फोटो खिच्ने र विवरण राख्ने काम दुवै जनाले सुरु गरे ।

लगभग १० वर्ष यसरी काम गरेपछि उनीहरुलाई लाग्यो किताब निकालौं । त्यसपछि उनीहरुले आफूले गरेको कामका बारेमा पिट नाम गरेका विदेशी विज्ञ, नेपालका पुतलीविज्ञ भैया खनाल र पुतलीका बारेमा लेख्दै आएका महेन्द्र लिम्बूसँग सल्लाह लिए । पुतली बाजे कोलेन स्मिथका किताब हेरे । उनीहरुले फोटोहरु धेरै खिचे पनि प्रजातिका हिसाबले ३१२ जातका पुतली भेट्टाएका रहेछन् ।

‘तीमध्ये २६४ पुतली चितवनमा पाइएका थिए । कोलेनले २४७ रेकर्ड गरेका थिए । हामीले २६४ पुर्‍यायौँ । त्यसपछि पनि थप पाँचवटा नयाँ पुतली हामीले भेटेका छौं,' टेकबहादुरले सुनाए । पर्यावरण, जैविक विविधता र कृषि क्षेत्रका लागि उपयोगी भए पनि पुतलीमाथि संकट बढ्दो छ भन्छन् टेकबहादुर । कृषिमा विषादीको प्रयोग, जंगल कम हुनु, डढेलोले असर गर्नु जस्ता कारणले पुतलीलाई समस्या परेको उनले बताए ।

‘सहरीकरणले हरियाली घटेको छ । बगैंचाहरु छैनन् । पुतलीलाई गाह्रो छ,’ उनले भने । मिचाहा प्रजातिका झारहरु माइकेनिया, पार्थेनियम पुतलीले मन पराएको देखेका छन् । यसका बारेमा राम्रो अध्ययन हुनुपर्ने उनको मत छ । पुतलीका तस्बिरहरुसहित प्रकाशित किताबमा पुतलीको महत्व र जीवनचक्रका बारेमा पनि सामग्रीहरु छन् । त्यसैले यो किताब पुतली संरक्षणमा सहयोगी हुन सक्ने उनीहरुको विश्वास छ ।

प्रकाशित : भाद्र ३, २०८१ १७:१०
x
×