कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

रोल्वालिङको बाढीबारे भएन अध्ययन

भाद्र १, २०८१
रोल्वालिङको बाढीबारे भएन अध्ययन

दोलखा — असार २२ राती रोल्वालिङ खोलामा एक्कासि बाढी आयो । बाढीले रोल्वालिङ पदमार्ग नै तहसनहस पार्‍यो । बाढीले गौरीशंकर– ९ को रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका ८ होटल बगाउनुका साथै एक जनालाई बेपत्ता बनाएको थियो । तर च्छो–रोल्पा हिमतालबाट बगेको रोल्वालिङ खोलामा कसरी बाढी आयो भन्नेबारे अझैसम्म केही कुरा खुल्न सकेको छैन ।

च्छो–रोल्पा नजिकैको पर्यटकीय गाउँ ना र बेदिङको बीचमा माथिबाट निकै ठूलो पहिरो खसेको स्थानीय दावाछिरिङ शेर्पाले बताए । ‘ना र बेदिङको बीचमा निकै ठूलो पहिरो गएको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा साना हिमतालहरू छन्, तिनै फुटेर आएको पानीले पहिरो ल्याएको अनुमान छ ।’ तर रोल्वालिङ खोलामा आएको बाढीका विषयमा अहिलेसम्म औपचारिक अध्ययन नगरिएको उनले बताए । ‘रोल्वालिङको बाढीपछि त्रासले बेदिङबासीले अनिंदो रात काटिरहेका छन्,’ उनले भने ।

ना र बेदिङका माथिल्लो क्षेत्रमा सबैभन्दा ठूलो हिमताल च्छो–रोल्पा छ । त्यसभन्दा माथि करिब एक घण्टाको दूरीमा अर्को हिमताल दुधकुण्ड रहेको छ । यी दुवै हिमताल रोल्वालिङ खोलाको मुख्य स्रोत हुन् । हिमताल विस्फोट र बाढीको त्रास बेदिङ र ‘ना’मा पनि रहेको उनले बताए । बेदिङको माथिल्लो क्षेत्रमा सानाठूला ताल र पोखरी पनि भएको उनले बताए ।

असार २२ मा रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको लामो झोलुंगे पुलसहित अन्य ससाना पुल बगाएपछि बेदिङ र नाको सम्पर्क टुटेको छ । बेदिङमा पुगेको राष्ट्रिय प्रसारण लाइनको विद्युत् अवरुद्ध बनेको एक महिनाभन्दा बढी भइसकेको छ । बेदिङको बीचमा पहिरो गएर खोला रोकिएको धेरैले अनुमान गरेका थिए । तर रोल्वालिङ खोलामा अचानक आएको बाढी खोला रोकिएर नभई माथिल्लो क्षेत्रमा रहेका तालबाट फुटेर आएले हुनसक्ने स्थानीयले बताए ।

स्थानीयले उक्त बेदिङको शिरमा रहेको हिमतालको नाम दोर्जी फुङमो राखेका छन् । स्थानीयले उक्त ताल फुटेको पनि अनुमान गरेका छन् । हिमतालको लम्बाई ९ सय मिटरजति रहेको स्थानीयले जनाए । ४ हजार ४ सय ४३ मिटर उचाइमा रहेको दोर्जी फुङ्मो हिमताललाई भैरव तालसमेत भनिने गरिएको छ ।

रोल्वालिङ क्षेत्रको उच्च भेगमा धेरै साना हिमताल रहेको प्राकृतिक रिसर्च सेन्टरका कार्यकारी तथा जलवायुविज्ञ प्रवीण सिंहले बताए । ‘रोल्वालिङमा आएका बाढीका विषयमा अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘हिमतालबाट बग्ने खोला भएकाले के कारण बाढी आयो, त्यो अध्ययन भए त्यस क्षेत्रको अवस्था बुझ्न सहज हुनेछ ।’

हिमाली क्षेत्रका तालहरूमा सूचना प्रणाली जडान गर्न सके त्यसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सहज हुने उनले बताए । सरकारले हिमाली क्षेत्रको हिमताल र जलवायुको विषयलाई उठान गरे पनि कार्यान्वयमा चुकेकाले हिमाली बस्तीहरू विपदको जोखिममा परेको उनले बताए ।

प्रकाशित : भाद्र १, २०८१ १७:३२
x
×