कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वाग्मती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान

श्रावण ६, २०८१
वाग्मती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान

हेटौंडा — वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार ढलेको हो । वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले उनको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

प्रकाशित : श्रावण ६, २०८१ १६:५५
×