कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

जीर्ण झोलुंगेबाट जोखिमपूर्ण यात्रा 

श्रावण ३, २०८१
जीर्ण झोलुंगेबाट जोखिमपूर्ण यात्रा 

दोलखा — जिल्लाको दुर्गम विगु गाउँपालिका–८ र कालिञ्चोक गाउँपालिका–१ जोड्ने एकमात्रै झोलुंगे पुल छ । हरेक दिन उक्त पुलबाट सयभन्दा बढी स्थानीय आउजाउ गर्छन् । विगु–८ थामीचागुका अल्पसंख्यक थामी समुदायको खेतीपाती र घाँसदाउरा गरेर ओहोरदोहोर गर्ने झोलुंगे पुल जोखिमपूर्ण छ । 

स्थानीयको दैनिकीसँग जोडिएको यो पुल बर्खाको समयमा उर्लेर आउने मैरे खोलाले झन् डरलाग्दो बनाउने गरेको छ । झोलुंगे पुलका लठ्ठा निकै पुरानो भैसकेको छ । पुलमा काठका फल्याक हालिएको छ । त्यसका नटबोल्ट छैनन् । कतिसम्म भने स्थानीयले पुलका फल्याक खसेपछि आफ्नै तरिकाले काठ हालेर ओहोरदोहोर गरिरहेका छन् । साँघुरो पुलका बारहरु पनि भ्वाङ परेका छन् । पुल तर्दा कतिखेर फल्याक खसेर हिँड्न नसकिने अवस्थामा छन् । तर स्थानीय बाध्यताले जोखिम मोलेरै उक्त पुलबाटै आउजाउ गरिरहेका छन् ।

जोखिम बनेपछि विगु–८ का अध्यक्ष हिरा थामीले झोलुंगे पुल कार्यक्रमले उक्त पुल विस्थापन गरेर नयाँ निर्माण गर्न सर्वे गरिसकेको बताए । तर पुल निर्माणका लागि रकम भने विनियोजन गरिएको छैन । यो वर्षमा कार्यक्रमले विगुमा १० लाख रुपैयाँ विनियोजित गरे पनि कहाँको पुल बन्छ जानकारी नभएको अध्यक्ष थामीले बताए । ‘स्थानीयको दैनिकीसँग जोडिएको पुल बनाइदिन पटक-पटक आग्रह गरे,’ उनले भने, ‘अल्पसंख्यक थामी समुदायको पहुँच पुग्दो रहेनछ, पहुँचवालाले यस्तो योजना आफ्नैतिर लान्छन् ।’

पुलबाट कतिपटक हिँड्दा खुट्टा अडकिएर निकाल्न परेको उनले बताए । ‘जीर्ण बनेको पुललाई हिँड्न हुन्छ कि भनेर कहिले फल्याक कहिले मुढा हाल्छौं,’ उनले भने, ‘पुल निकै जीर्ण भएर चुडिने अवस्थामा पुगेको छ, कुन दिन दुर्घटना हुन्छ भन्न सक्दैनौं ।’

कालीञ्चोक–१ क्याम्पोलका स्थानीय आफन्त र सिंगटी बजार यही पुल तरेर पुग्ने गरेका छन् । पुलको हिँड्ने भागका फल्याक मक्किएर झरेको धेरै भैसक्यो । थामीचागुका स्थानीय खेतीपातीका लागि यही पुल प्रयोग गरिरहेका छन् । बालबालिका पनि विद्यालय यही पुलबाट आउजाउ गर्छन् । अझ बर्खामा हालेका फल्याक मक्किने र झर्ने गरेको स्थानीयले बताए । केही दिनअघि उक्त पुलको दुर्दशा सामाजिक संजालमा आएपछि कालीञ्चोक गाउँपालिकाले पुलबाट आवतजावत नै बन्द गर्‍यो । अहिले स्थानीयलाई सहज बनाउन तत्कालका लागि फल्याक फेर्न थालिएको छ । जीर्ण पुलमा तत्काल हिँड्डुल गर्न फल्याक फेरे पनि जोखिम भने उस्तै रहेको कालीञ्चोक–१ का अध्यक्ष पदम थामीले बताए । ‘सामाजिक संजालमा पुलको अवस्था नाजुक देखेपछि प्राविधिक ल्याएर मर्मतसहित फल्याक राख्न थालेका छौं,’ उनले भने, ‘विपद व्यवस्थापन कोषबाट पालिकाले केही बजेट दिए पनि स्थायी रुपमा पुल विस्थापन गरेर नयाँ बनाउनुको विकल्प छैन ।’ मैरे खोलामा पुल नजिकै निर्माणाधीन कालीञ्चोक जलविद्युत् आयोजनाको बाँधस्थल छ ।

स्थानीयले उक्त जलविद्युत् आयोजनालाई पनि नयाँ पुल निर्माण गरिदिन आग्रह गर्दै आएका छन् । तर आयोजनाले समेत कुनै सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

विगु–८ र कालिञ्चोक–१ लाई जोड्ने मैरे खोलाको जोखिम झोलुंगे पुलमा घाँस बोकेर तर्दै स्थानीय । तस्बिर : केदार शिवाकोटी/कान्तिपुर

झोलुङ्गे पुलको हालको अवस्था । सामाजिक संजालमा पुलको अवस्थाका बारेमा टिप्पणी भएपछि पुलमा हिँड्डुल गर्न फल्याक हिँलिदै छ । तस्बिर : लंगसे किराँतीको फेसबुकबाट

प्रकाशित : श्रावण ३, २०८१ १७:०९
x
×