कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मधेशमा पार्टीको जग बलियो बनाउन माओवादी केन्द्रको समीक्षा बैठक

भाद्र २५, २०८१
मधेशमा पार्टीको जग बलियो बनाउन माओवादी केन्द्रको समीक्षा बैठक

महोत्तरी — नेकपा माओवादी केन्द्रले मधेशमा पार्टीको सांगठनिक अवस्था र सुदृढीकरणको पाटो अवलम्बन गर्ने भन्दै समीक्षा बैठक थालेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा महोत्तरीको बर्दीबासमा मधेशका केन्द्रीय सदस्यहरूबीच दुई दिने समीक्षा र परामर्श बैठक सुरु भएको माओवादी केन्द्र महोत्तरीले जनाएको ।

मंगलबार बिहानबाट सुरु भएको र बैठक बुधबारसम्म चल्ने माओवादी केन्द्र महोत्तरीका इन्चार्ज तथा केन्द्रीय सदस्य राजु खड्काले जानकारी दिए । बैठकमा मधेशका ५० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित छन् ।

बैठकमा पार्टी कमजोर हुनुको आन्तरिक तथा बाह्य कारणहरू मसिनो गरी केलाउने र समाधानको पाटोमा सुझाव संकलन गर्ने मात्रै नभई पार्टीको रणनीति, कार्यशैली र आचरणमा समेत गम्भीर समीक्षा हुने केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले बताए ।

मधेशमा पार्टी कमजोर बन्दै गएको र त्यसको परिणाम सन्तोषजनक नरहेको पोखरेलले बताए । बैठकले पार्टीका आन्तरिक द्वन्द समाधान गर्दै मजबुत संगठन निर्माण गर्ने र पार्टीको जग बलियो बनाउने उनले बताए ।

बैठकमा उठेका विषयहरूको पार्टी अध्यक्ष दाहाल स्वयंले दस्तावेज तयार पार्ने र थप छलफल गरेर निष्कर्ष निकालिने केन्द्रीय सदस्यहरूले बताएका छन् ।

अध्यक्ष दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङलगायतका माओवादी नेताहरू समीक्षा तथा परामर्श बैठकका लागि बर्दीबास आइपुगेका छन् ।

प्रकाशित : भाद्र २५, २०८१ १२:४६
×