कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वार्थ बाझिएकालाई छानबिन समितिमा राखेको जसपा सांसदको आरोप

भाद्र २५, २०८१
स्वार्थ बाझिएकालाई छानबिन समितिमा राखेको जसपा सांसदको आरोप

जनकपुर — जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रवक्ता एवं प्रदेश सांसद मनीष सुमनले कृषि विश्वविद्यालयको घटना छानबिनका लागि स्वार्थ बाझिएका व्यक्तिलाई जिम्मा लगाएको भन्दै आपत्ति जनाएका छन् ।

गत माघमा कृषि विश्वविद्यालयको मुख्यालय शिलान्यास कार्यक्रममा जसपा र जनमत पार्टीबीच भएको झड्पलाई लिएर मधेश प्रदेश सरकारले योजना तथा नीति आयोगका उपाध्यक्ष डा. सोहन साहको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

जसपा प्रवक्ता सुमनले कृषि विश्वविद्यालयले अध्ययन गराउने विषय पढाउने जनकपुर कम्युनिटी कलेजका सञ्चालकसमेत रहेका डा. साहलाई छानबिनको जिम्मेवारी दिनु उचित नभएको बताए । ‘योजना आयोगका उपाध्यक्ष साह कम्युनिटी कलेजका सञ्चालक पनि हुन् । उनले छानबिन नटुंगिदासम्म कृषि विश्वविद्यालयको सबै काम रोकेका छन्,’ प्रदेश सभाको मंगलबारको बैठकमा सुमनले भने, ‘कृषि विश्वविद्यालयको भर्ना नै रोकेपछि त्यो विद्यार्थी त साहकै कलेजमा आउने भए ।’ उनले छानबिन समितिको दुईपटक म्याद थपिए पनि प्रतिवेदन तयार पार्न जानाजानी विलम्ब गरिरहेको पनि बताए ।

प्रदेश सभा बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले कृषि विश्वविद्यालयको घटना छानबिनकै क्रममा रहेकाले छानबिनलाई प्रभावित हुने गरी टिप्पणी नगर्न आग्रह गरे । ‘छानबिन चल्दैछ । समितिले निचोड तयार पारेर प्रतिवेदन दिने नै छ,’ उनले भने, ‘अनावश्यक आक्षेप लगाएर छानबिनलाई प्रभावित पार्नु हुन्न ।’

प्रकाशित : भाद्र २५, २०८१ १८:५६
×