कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

वनको जग्गामा लगाइएको मकै उखेलियो

भाद्र २०, २०८१
वनको जग्गामा लगाइएको मकै उखेलियो

जनकपुर — मधेश प्रदेश सरकारले वनजंगल अतिक्रमण गरेर बनाइएका संरचना हटाउने र खेती उखेल्ने अभियान थालेको छ । डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–२ स्थित भ्युटावर छेउको वनको जग्गामा लगाइएका मकैलगायतका बाली उखेलिएको छ । 

रौतहटको महादेव स्थान सामुदायिक वनको जग्गा अतिक्रमण गरी डेढ बिघामा लगाइएका मकै, मासको दाललगायतका बाली उखेलेर वन कार्यालयको टोलीले जग्गा खाली गराएको हो । वन क्षेत्रको जग्गामा त्यही क्षेत्रका बासिन्दाले एक वर्षयता खेतीपाती नै थालेका थिए । मुख्यमन्त्री सतिशकुमार सिंहले वनको जग्गा अतिक्रमण गरेर खेतीपाती गरिरहेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहसित बुधबार चासो राखेका थिए ।

मुख्यमन्त्री सिंहको चासोपछि रौतहत वन कार्यालयले वनको जग्गामा लगाइएका बाली उखेलेर फालिदिएको वन प्रमुख साहले जानकारी दिए ।

‘अतिक्रमणकारीले एक वर्ष मकैलगाययतका बाली भित्याइसकेका छन् । यसवर्ष भने भर्खरै बाली लगाएका थिए । वनकर्मीहरूको टोली परिचालन गरेर जग्गा खाली गराएका छौं,’ रौतहटका डिभिजनल वन अधिकृत साहले भने,‘आज पनि(बिहीबार) त्यस ठाउँमा बाँकी अतिक्रमण हटाउन खटिसकेका छौं ।’ अतिक्रमणमुक्त गराइएको जग्गामा बिहीबार नै वृक्षरोपण गरिने साहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले मंगलबार प्रदेशका आठवटै जिल्लाका डिभिजन वन अधिकृतलाई जनकपुरस्थित सरकारी निवासमा बोलाएर प्रत्येक महिनामा कम्तीमा एक ठाउँको पुरानो वन अतिक्रमण पहिचान गरी हटाउन र नयाँ वन अतिक्रमण हुन नदिन निर्देशन दिएका थिए ।

मधेश प्रदेशमा कुल वनको ४ प्रतिसत क्षेत्रफल मात्र छ । सिरहा र बारा जिल्लाको वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना यसअघि नै भत्काएर खाली गराइसकिएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ ०९:५४
x
×