कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

चोहर्वा पशु बजार : तोकिएभन्दा बढी सेवा शुल्क ‘असुली’

भाद्र २०, २०८१
चोहर्वा पशु बजार : तोकिएभन्दा बढी सेवा शुल्क ‘असुली’

Highlights

  • किसान भन्छन्, ‘मनलाग्दी पैसा उठाउँछन्, बिलमा भने चढाउँदैनन्’

सिरहा — सिरहाको गोलबजार नगरपालिका–७, पुरानो चोहर्वास्थित राजमार्गदेखि उत्तरमा आँपको ठूलो बगैंचा छ । त्यसै बगैंचामा चार दशक लामो समयदेखि लाग्दै आएको छ, पशु बजार । हरेक सोमबार र बिहीबार लाग्ने यो पशु बजार यति चर्चित छ कि यहाँ मधेसका अधिकांश जिल्लाबाट पशु किनमेल गर्नेहरू आउँछन् ।

गोलबजार नगरपालिकाले यो पशु बजार प्रत्येक वर्ष ठेक्का लगाउँछ । यस वर्ष २०८०/८१ का लागि गोलबजारकै मानकी निर्माण सेवाले ठेक्का पाएको छ । नगरपालिकाका अनुसार उसलाई ३५ लाख ११ हजार रुपैयाँमा ठेक्का दिइएको हो ।

ठेक्का सम्झौता अनुसार ठेकेदारले बजारमा गाई, गोरु, भैंसी, घोडा, बाच्छाबाच्छी, पाडापाडी बेच्ने वा किन्नेसँग प्रतिथान २ सय ५० रुपैयाँ लिन पाउँछ । यस्तै, बीउ पाडा (राँगा) बेच्ने वा किन्नेबाट प्रतिथान ५ सय रुपैयाँ लिन पाइने ठेक्का सम्झौतामा उल्लेख छ ।

यसैगरी बाख्रा, खसी, पाठापाठी किन्ने वा बेच्नेसँग २ सय तथा हलो जोताई बापत किन्ने वा बेच्नेसँग प्रतिजोडा ५० रुपैयाँ मात्र सेवा शुल्क लिन पाइने दररेट नगरपालिकाले तोकेको छ । तर, ठेकेदारले भने बजारमा सेवा शुल्कका नाममा मनलाग्दी असुली गर्दै आएको उपभोक्ताको गुनासो छ ।

गोलबजार नगरपालिका–१२, बेतौनाका रामदयाल सिंहले सोमबार बजारमा २६ हजार रुपैयाँमा एउटा पाडी बेचे । तर, सेवा शुल्क २ सय ५० रुपैयाँ तिर्नुपर्नेमा ३ सय ५० रुपैयाँ आफूबाट असुल गरिएको सिंहले बताए । ‘नियम अनुसार त २ सय ५० रुपैयाँ नै सुनेको हुँ,’ उनले कान्तिपुरसित भने, ‘तर, खै यहाँ त मान्दैनन्, ठेकेदारको मनपरि छ ।’

धनुषाका रामवृक्ष दासले पनि रामदयालले जस्तै तोकिएको भन्दा बढी सेवा शुल्क तिरेको बताए । उनले दुई थान बाच्छा किन्दा आफूले ६ सय रुपैयाँ तिर्नुपरेको सुनाए । ‘पाँच सय मात्रै लिनुपर्ने, तर बढी लिन्छन्,’ उनले भने, ‘म महिनामा दुई–तीनचोटि आइराख्छु, यसैगरी तिर्नुपर्छ, नमान्दा जाइलाग्न खोज्छन्, के गर्नू ?’

नगरपालिकाले तोकेको दररेटभन्दा बढी रकम ठेकेदारलाई बुझाउनु परेका यी दुई जना प्रतिनिधि पात्र मात्र हुन् । यो बजारमा आउने सबैसँग ठेकेदारले यसैगरी थर्काउँदै मनलाग्दी असुली गर्दै आएको पाइएको छ । सेवा शुल्कबापत किनमेल गर्नेलाई दिइने रसिदमा शुल्क उल्लेख नै नगरी दिने गरिएको पनि भेटिएको छ ।

‘पैसा मनलाग्दी उठाउँछन्, बिलमा भने चढाउँदैनन्,’ अर्नामा गाउँपालिकाका वीरेन्द्र महतोले भने, ‘बिलमा नलेख्दा पैसा दिन्न भन्दा धम्काउँछन्, उनीहरू समूहमै हुन्छन्, विवाद गर्दा पनि समस्या, त्यसैले कसैले केही बोल्दैनन् ।’

यस विषयमा नगरपालिकालाई जानकारी नगराइएको भने होइन । तर, नगरपालिकाले कुनै सुनुवाइ नगरेको बजार आइराख्ने धनगढीमाई नगरपालिकाका पशु व्यापारी रामऔतार यादवले गुनासो गरे । ‘हामीहरू पटक–पटक नगरपालिकालाई यसबारे जानकारी गराउँछौं,’ उनले सुनाए, ‘तर, सबैको मिलेमतो भएपछि सुधार कसरी हुनु ?’

मानकी निर्माण सेवाका सञ्चालक मोहन यादव भने नगरपालिकाले उपलब्ध गराएको दररेटकै आधारमा सेवा शुल्क उठाउने गरेको दाबी गर्छन् । ‘नगरपालिकाले जे दररेट भनेको छ, हामीले त्यसैगरी उठाइरहेका छौं,’ उनले भने, ‘बाँकी कुरा सबै गलत हो ।’

यता, गोलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवोध लामाले यो कुरा आफूलाई कसैले गुनासो नगरेको र आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले अब बजारको अनुगमन गरिने र त्यस्तो भेट्टिए कारबाही हुने पनि बताए ।

प्रकाशित : भाद्र २०, २०८१ १३:५९
x
×