कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मिटरब्याज पीडितको गुनासो : 'न्याय पाउन मुस्किल भयो'

भाद्र ८, २०८१
मिटरब्याज पीडितको गुनासो : 'न्याय पाउन मुस्किल भयो'

सिरहा — मिटरब्याज पीडितहरूले मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुनको कार्यान्वयनका लागि सरकार र संयन्त्र इमानदार नभएको गुनासो गरेका छन् ।

मिटरब्याज समस्याविरुद्धमा संघर्ष गर्दै आएको दुई संघर्ष समिति एकता भएर बनेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको गोलबजारमा शनिबार आयोजित सिरहा जिल्ला भेलामा पीडितहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले कानुन कागजमै सीमित हुँदा न्याय पाउनै मुस्किल भएको गुनासो सुनाए । 'हाम्रो संघर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ,' आन्दोलनका प्रवक्ता निर्ग नवीनले भने, 'सरकार र संयन्त्र नै निर्दयी छन् ।'

उनले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुन गइरहेको र त्यसपछि पनि सरकारको व्यवहार ठीक नदेखिए सशक्त संघर्ष थाल्ने चेतावनी दिए । 'मिटरब्याजको संरक्षक राजनीतिक दलहरू नै हुन्,' उनले भने, 'रबैया सुधार नभए वारपारको लडाइँ हुन्छ ।'

आन्दोलनका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरी बुझेको गुनासो गरे । 'उनीहरूले हामीलाई पटक-पटक हिंस्रक हुन उक्साइरहेका छन्,' उनले भने, 'उनीहरूले हामीमाथि दमन गरिरहेका छन् ।'

आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पारेको आरोप लगाए । 'मिटरब्याजीसँग टन्नै पैसा हुन्छ, तर पीडितसँग छैन,' उनले भने, 'सारा सिस्टम मिटरब्याजीको प्रभावमा परेर पीडितमाथि थप दमन गरिरहेका छन् ।'

आन्दोलनका अगुवा रामरिझन यादव भने अहिलेका सबै दल र तिनका नेताहरू नै मिटरब्याजी भएको र त्यसैकारण यो समस्या जटिल बनेको तर्क गरे । 'सबै दल नै मिटरब्याजी छन्,' उनले भने, 'तर, यस्तो धेरै चल्दैन, उनीहरूले श्रीलंका र बंगलादेशबाट पाठ सिकुन् ।'

प्रकाशित : भाद्र ८, २०८१ २१:५१
x
×