कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

कमला पुल निर्माणको मागसहित जारी आन्दोलनमा बार एसोसिएसनको ऐक्यबद्धता

भाद्र ५, २०८१
कमला पुल निर्माणको मागसहित जारी आन्दोलनमा बार एसोसिएसनको ऐक्यबद्धता

सिरहा — मधेशको जीवन रेखा मानिएको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषाको सीमास्थित कमला नदीको पुल निर्माणको मागसहित जारी आन्दोलनमा बार एसोसिएसनले ऐक्यबद्धता जनाएको छ ।

सिरहा जिल्ला अदालत बार एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै ऐक्यवद्धता जनाएको हो । कमलामा पुलका लागि जारी आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनमा सहभागी हुने उद्‌घोषसमेत एसोसिएसनले गरेको छ ।

यस्तै, एसोसिएसनले मधेशको समृद्धिको सबालप्रति राज्य सदैव उदासिन रहँदै आएको आरोप लगाउँदै जारी आन्दोलनको माग यथाशीघ्र सम्बोधन गर्न एसोसिएसनले प्रदेश र संघ सरकारसँग अपिल पनि गरेको छ ।

एसोसिएसन सिरहाका अध्यक्ष अधिवक्ता मदन साह र सचिव गोपीप्रसाद सिंहद्वारा जारी विज्ञप्तिमा राज्यको विभेदपूर्ण व्यवहारका कारण मधेशको विकास अवरुद्ध रहँदै आएकोसमेत उल्लेख छ । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सिरहाका स्थानीय र सरोकारवालाहरू मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि मंगलबारदेखि नै आमरण अनशनमा छन् ।

हुलाकी सडक लगभग तयारी अवस्थामा छ । तर, कमला नदीमा पुल नहुँदा हुलाकी सडकबाट जनकपुर–सिरहाको दूरी ३२ किलोमिटरमात्रै भए पनि सर्वसाधारणलाई ढल्केवर–चोहर्वा हुँदै सिरहा जानुपर्छ । जसको दूरी झन्डै १ सय किलोमिटर छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कमला पुल निर्माण संघर्ष समितिले असार २७ गते अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन गर्ने चेतावनी दिएका थिए ।


प्रकाशित : भाद्र ५, २०८१ २०:१४
x
×