कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मधेश प्रदेश सरकारद्वारा कृषि तथा पशुपन्छी बिमा अनुदानमा दुई करोड विनियोजन

भाद्र २६, २०८१
मधेश प्रदेश सरकारद्वारा कृषि तथा पशुपन्छी बिमा अनुदानमा दुई करोड विनियोजन

काठमाडौँ — कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् ।

अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको प्रभावकारितालाई अध्ययन गरेर भविष्यमा आफूहरु पनि त्यसतर्फ अघि बढ्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री सिंहले बिमा गरेपछि बिमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बिमा गराउँदा बिमाका सर्तहरूका बारेमा बिमितलाई राम्रोसँग बुझाउनुपर्ने र बिमा सर्भेयर तथा बिमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा जटिल विषय नभएको बताए । दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बिमा गर्न पुग्ने उनले बताए ।

‘बिमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो, अब अनुदानलाई बिमामा रूपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बिमा गर्नुपर्छ, बिमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ,’ अध्यक्ष सिलवालले भने ।

प्रकाशित : भाद्र २६, २०८१ १३:४७
×