कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

राजविराज-छिन्नमस्ता सडक : म्याद सकिँदासम्म बल्ल १३ प्रतिशत काम

भाद्र ५, २०८१
राजविराज-छिन्नमस्ता सडक : म्याद सकिँदासम्म बल्ल १३ प्रतिशत काम

राजविराज — पवित्र तीर्थस्थल छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज-छिन्नमस्ता सडक र भारतीय दर्शनार्थी आउने सीमादेखि मन्दिरसम्मको सडक हिलाम्मे छ । सडक निर्माणका लागि विगतमा ठेक्का लागिसकेको भएपनि सम्झौताअनुसार निर्माण कम्पनीले काम नगर्दा सर्वसाधारण र तीर्थालु भक्तजन्‌हरु सास्तो बेहोर्न बाध्य छन् । 

दशैँ नजिकिँदै जाँदा नेपाल र भारत दुवैतर्फबाट छिन्नमस्ता जोडने सडकमा भक्तजन्‌को चाप बढ्छ । तर सडक नबन्दा तीर्थालुहरु आउनेक्रममा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

छिन्नमस्ता शक्तिपीठमा नेपाल र भारततिरबाट समेत गरी दैनिक सयौँ भक्तजन आउने गरेका छन् । दशैँका दश दिन लाखौँको संख्यामा श्रद्धालु भक्तजन्‌हरु यहाँ आउने गरेका छन् । राजविराज - छिन्नमस्ता - न्योर बोर्डर सडकका विभिन्न स्थानमा अहिले ठूल-ठूलो खाल्डा परेका छन् ।सडक हिलाम्मे हुँदा आवागमनमा समस्या हुने गरेको छ ।

सडकको दुरावस्थाका कारण अहिले छिन्नमस्ता भगवती मन्दिर पुग्ने दर्शनार्थीमा कमी आएको मन्दिरका मुलपुजारी भूवन ठाकुरले बताए । सडक डिभिजन कार्यालय लहानले यो सडक निर्माणका लागि ०७९ असार २३ गते साह इन्जिनयरिङ्ग प्रालिसँग दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । जसको सम्झौता रकम २५ करोड ८८ लाख दुई हजार रुपैयाँ उल्लेख छ ।

सम्झौताअनुसार उक्त निर्माण कम्पनीले २०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने हो । तर अहिलेसम्म बल्ल १३.३३ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले निर्माण कम्पनीको लापरबाहीका कारण सडक नबनेको र आवागमनमा समस्या भएको बताए । उनका अनुसार गाउँपालिकाकातर्फबाट जनप्रतिनिधिहरुले सडक डिभिजन र ठेकेदारलाई मात्रै होइन, मन्त्री र प्रधानमन्त्रीसमेतलाई भेटेर सडक बनाउन ध्यानाकर्षण गराएका छन् । तर निर्माण कम्पनीले काम नगरेको उनको गुनासो छ ।

सबैतिर हारगुहार गर्दा पनि सडक नबनेपछि जनप्रतिनिधिहरुकै अगुवाईमा बुधबार दुई घण्टासम्म सडक अवरुद्ध पारिएको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित : भाद्र ५, २०८१ १९:५३
x
×