कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सीमामा ड्रोन क्यामेरा आतंक

श्रावण २१, २०८१
सीमामा ड्रोन क्यामेरा आतंक

Highlights

  • नेपाल–भारत दुवैतर्फका जिल्ला तहका सुरक्षा अधिकारीको आकस्मिक बैठक सम्पन्न

पर्सा — वीरगन्जस्थित भन्सार नाका, एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाह क्षेत्र एक सातादेखि ड्रोन क्यामेराको शंकास्पद गतिविधिबाट आतंकित बनेका छन् । गत साउन १२ रातिदेखि यसरी एकसाथ विभिन्न स्थानमा ड्रोन क्यामेरा उडेर निश्चित स्थान विशेषको निगरानी गर्न थालेपछि दुवै देशका सरोकारवाला पनि चिन्तित बनेका हुन् ।

विशेष गरी एकीकृत सुरक्षा जाँच चौकीको समानान्तरमा रहेको भारतीय एकीकृत सुरक्षा जाँच चौकी, दशगजा क्षेत्र, नेपाली एकीकृत सुरक्षा जाँच चौकी, दुवै भन्सार नाका नजिक रहेका अलौं, खल्वाटोला, चण्डालचोक, वीरगन्ज–पोखरिया हुलाकी सडक खण्डमा रहेको तिलाबे खोला क्षेत्रमा रातको समयमा आधा दर्जनको हाराहारीमा एकैसाथ ड्रोन क्यामेरा उडिरहने भएकाले दुवै देशका सुरक्षा निकायको चिन्ता बढेको हो ।

सामान्यतया भारतको स्वतन्त्रता दिवस अर्थात् १५ अगस्ट वा अन्य कुनै राष्ट्रिय पर्व नजिकिंदै गर्दा सीमामा भारतले विशेष सतर्कता र निगरानी बढाउने गर्छ । तर, शंकास्पद रूपमा अन्तर्राष्ट्रिय सीमा तथा संवेदनशील क्षेत्रमा यसरी मध्यरातमा ड्रोन क्यामेरा सक्रिय रूपले परिचालन हुन थालेपछि सीमा निगरानी गरिरहेको भारतीय सुरक्षा फौज एसएसबी झनै आत्तिएको एकीकृत सुरक्षा जाँच चौकी वीरगन्जको संचालक कम्पनी टीआरएस हिमालयन लजी पार्क प्रालि स्रोतले बतायो ।

‘हाम्रो त रातिको निद्रा यो प्रकरणले उडाएको छ, भारतीय पक्ष झनै आत्तिएको छ,’ लजी पार्कका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनीहरूको स्वतन्त्रता दिवस नजिकिएका बेला झनै सीमामा निगरानी बढाइरहेको अवस्थामा अचानक यसरी ड्रोन क्यामेराले शंकास्पद रूपमा दुई देशीय सीमामा निगरानी गरिरहेको छ ।’

यसरी ड्रोन आतंक बढेलगत्तै साउन १३ मा भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कन्सुलर तथा नेपाल र भारत दुवै तर्फका जिल्लाका सुरक्षा अधिकारीहरूको आकस्मिक बैठकसमेत बसेको ती अधिकारीले बताए । दुवै देशका अधिकारीले सीमामा ड्रोन परिचालन गरेर दुवै देशका सुरक्षा निकायको ध्यानाकृष्ट गर्दै अर्कोतर्फबाट तस्करी कार्य गर्न पनि हुन सक्ने अनुमानको विषयमा छलफल गरेका थिए ।

ड्रोन क्यामेराको सतर्कतापछि नेपाल तथा सशस्त्र प्रहरीका अधिकारीहरू पनि पटक–पटक एकीकृत सुरक्षा जाँच चौकीमा अनुसन्धानका लागि आइसकेका छन् । सशस्त्र प्रहरीका डीआईजी कालिदास धौवजी, सशस्त्रका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, नेपाल प्रहरीका पर्साका प्रमुख कुमोध ढुंगेल लगायत अधिकारी घटनाबारे अनुसन्धान गरेर फर्किसकेका छन् । केही दिनयता रातको समयमा सशस्त्र प्रहरीका डीएसपी विकास अधिकारी आईसीपीमै निगरानी गरेर बस्ने गरेका छन् ।

वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्ष सन्जु छतकुलीले आफूले सातायता रातको समयमा १/२ पटक आकाशमा ड्रोन क्यामेरा देखेको बताए । ‘मैले पहिलो पटक मेरो घरको छतमाथिबाट वडा कार्यालयको छत हुँदै दक्षिण–पश्चिम आकाशमा केही ड्रोन क्यामेरा तीव्र गतिमा उडेको देखेको छु, लगत्तै सशस्त्र प्रहरीका डीएसपी विकास अधिकारीलाई यसबारे सूचना पनि दिएको थिएँ,’ उनले भने, ‘तीव्र गतिमा, सम्भवतः हवाईजहाज जस्तै गतिमा ती ड्रोन उड्ने गरेका छन्, सामान्यभन्दा अत्यन्त ठूलो आकारका ड्रोन क्यामेरा अत्यन्त उचाइमा पुगेर समेत उड्ने गरेको मैले देखेको छु ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उत्तम घिमिरेले आफूले पनि यसबारे सुनेको तर आधिकारिक रूपमा कुनै जानकारी नआएको बताए । सशस्त्र प्रहरी बल पर्साका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा केही पनि नतिजा आउन नसकेकाले प्राविधिक टोली बोलाएरै अनुसन्धान गर्नुपर्ने स्थिति देखिएकाले केन्द्रसँग यस सम्बन्धमा समन्वय भइरहेको बताए ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले ड्रोन क्यामेराबारे सूचना आएको र त्यसको छानबिन गर्न टोली पनि परिचालन भइसकेको बताए । तर हालसम्म केही पनि नतिजा आई नसकेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०८१ १५:५५
×