कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जनश्रमदानबाटै काठेपुल निर्माण

भाद्र १९, २०८१
जनश्रमदानबाटै काठेपुल निर्माण

खोटाङ — जिल्लाको साकेला गाउँपालिका–३ खिदीमाका स्थानीयले आफ्नै खर्च र श्रमदानमा पुल निर्माण गरेका छन् । उक्त वडाको मखमले र बोराटोलमा पर्ने बोराखोलामा जनश्रमदानमार्फत आधुनिक प्रकारको काठेपुल निर्माण गरिएको हो ।

स्थानीय मखमले र तावाभन्ज्याङका ४० जना युवाहरूले तीन दिन लगाएर करिब १२ मिटर काठको पुल निर्माण गरेका हुन् । पुलको लागत करिब एक लाख ५० हजार रूपैयाँ बराबरको भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उनका अनुसार पुल निर्माण गर्न सल्ला र पात्लेको काठ प्रयोग गरिएको छ ।

वर्षाको बेला खोलामा बाढी आउँदा विद्यार्थी तथा स्थानीयलाई जोखिम भएकाले पुल निर्माण गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए । ‘यहाँका बालबालिका प्राथमिक तह अध्ययनका लागि विद्यालयसम्म पुग्न जोखिम र कठिन थियो,’ तामाङले भने, ‘पुल बनेपछि आवतजावत गर्न सहज भएको छ ।’

गाउँ–टोलमा स्थानीयको सहभागितामा महत्वपूर्ण विकास निर्माण भइरहेको र यसले विकासमा अपनत्व जागेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । ‘आफ्नो टोल र समाजमा हुने विकासका काममा स्वस्फूर्त लाग्दा परिवर्तन आफै हुने यो कामले देखाएको छ,’ राईले भने ।

प्रकाशित : भाद्र १९, २०८१ १७:१०
x
×