कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छथर जोरपाटीमा सामुदायिक पुस्तकालय सञ्चालनमा

भाद्र १५, २०८१
छथर जोरपाटीमा सामुदायिक पुस्तकालय सञ्चालनमा

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिकाको मुकाम सिधुवामा जापान सरकारको सहयोगमा स्रोत केन्द्र सहितको सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ । 

पुस्तकालय दिवसको अवसर पारेर बहुआयामिक र बहुसीपयुक्त पुस्तकालयको जापान राजदूतावास मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले शनिबार संयुक्त रुपमा उद्‌घाटन गरे । जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयवासी समेतको ३० हजार गरी २ करोड १२ लाख ३० हजारको लागतमा पुस्तकालय निर्माण भएको हो ।

जापान सरकारको तीन वर्षे आयोजनाअन्तर्गत एसभीए र रिड नेपालको समन्वय तथा प्राविधिक सहयोगमा पुस्तकालय निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । पुस्तकालयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि जीवनपयोगी पुस्तक संग्रहित छन् ।


दुई वटा सभा हलसहित नौ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राविधिक, आईसिटी, पुस्तकालय र जोखिम न्यूनीकरण कक्ष साथै अपांगमैत्री कक्षसमेत रहेका छन् ।

पुस्तकालयमा तीन हजार भन्दाबढी पुस्तक रहेका छन् । आगामी दिनमा स्थानीयस्तरमा रहेका बौद्धिक, सांस्कृतिक तथा सामाजिक क्षेत्र पठनीय सामग्री थपिने पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरेले बताए ।

पुस्तकालय दीगो रुपमा सञ्चालन गर्न कृषि प्राविधिक, मेकानिकल तालिम, होमस्टे, तरकारी प्रशोधन र कम्प्युटरलगायतका विभिन्न जीवनोपयोगी तालिमसमेत निःशुल्क दिइने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०८१ १९:००
x
×