कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

झापामा अनुचित लेनदेनका ९८ उजुरी

भाद्र १४, २०८१
झापामा अनुचित लेनदेनका ९८ उजुरी

भद्रपुर — झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१/०२/११ गतेदेखि मिति २०८१/०४/०४ गतेसम्ममा उक्त उजुरी परेका हुन् ।

झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ । जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्योट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताए ।

'तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् । २० हजार देखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्,' उनले भने ।

छिट्टै संयन्त्रको बैठक बसी छलफका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिए ।

प्रकाशित : भाद्र १४, २०८१ २१:००
x
×