कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बुद्धेश्वरमा टावर : अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना

भाद्र १०, २०८१
बुद्धेश्वरमा टावर : अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले धार्मिक पर्यटकीय बुद्धेश्वर गुफा नजिकै संरचना निर्माण गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नु पर्नेमा त्यसलाई असर गर्ने गरी संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना भएको हो ।

यो योजना प्रदेश समपुरक अनुदान अन्तर्गत कोसी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजार रूपैयाँ विनियोजित रकममध्ये ९६ लाख ६६ हजार दुई सय ८९ रूपैयाँको लागतमा ठेक्का मार्फत गरिएको हो ।

२०८१ असार २४ गतेसम्म सक्ने गरी मादी आर के. डी. कन्स्ट्रक्सन प्रालि इटहरीले २०८० माघ ९ गते सम्झौता गरेको थियो । यो योजनाको ७५ लाख ७ हजार ४ सय ९६ रूपैयाँ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पनि कोसी प्रदेशले एक करोड रकम विनियोजन गरेको छ ।

अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर निर्माण गरेको, आँखा पोखरी लगायतका अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावर लगायतको संरचना निर्माण गरेको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले बताए ।

‘सम्पदा नै संकटमा पर्ने गरी टावर बनाइएको छ,’ लयालुले भने, ‘टावर बन्दैमा पर्यटन प्रवर्द्धन हुन्छ भन्ने धारणा गलत हो, त्यसमाथि पनि सिमेन्टले बनेको संरचना बनाइएको छ, त्यो अझै गलत हो ।’ मझुवागढी क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने लयालुको भनाइ छ ।

‘अहिले बनाइएको टावरले त दिक्तेल बजारतिरको दृष्य छलिएको छ, पहिले देवीथानबाट जहाँबाट हेर्दा पनि दिक्तेल बजार देखिन्थ्यो, अहिले पूर्वी–दक्षिणबाट हेर्दा टावरले छलिएको छ, टावर त देखिनुको लागि होइन ?’ लयालुले भने, ‘कहाँ के गर्ने भन्ने बुझ्नु पर्थ्यो, यसमा नगरपालिका चुक्यो, अब पुस्तौँ–पुस्तासम्म यसले असर गर्छ,'लयालुले भने ।

यो ठाउँमा सिमेन्टको संरचना निर्माण गर्न नहुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन अचार्यले बताए । ‘पर्यटकलाई सेमेन्टले आकर्षण गर्दैन, बरु पुरानो खालको संरचनाले आकर्षित गर्थ्यो,’ आचार्यले भने, ‘पर्यटन प्रवर्द्धन गर्न नगर एक्लेले सम्भव छैन, सबैको साथ सहयोग चाहिन्छ, तर नगर एक्लैले मनपरी गरिरहेको छ, यो गलत हो ।’

नगर प्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न उक्त संरचना बनाइएको दाबी गरे । ‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न यो संरचना बनाइएको हो,' भट्टराईले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी होइन, संरचना निर्माणपछि पर्यटक आउने भएकाले अनुत्पादक भन्न मिल्दैन ।’

प्रकाशित : भाद्र १०, २०८१ २०:५५
x
×