कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

वैशाख २१, २०८१
डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

उनका अनुसार तत्काल राहतस्वरुप पालिकाले प्रतिपरिवार १० हजार नगद उपलब्ध गराइएको छ ।

थुलुङ दुधकोशी ३, पञ्चनको दक्षिणी भेगमा पर्ने राखानी जंगलमा लागेको डढेलो फैलिएर बुधबार वडाका बिदेशी, लोस्कु, रोलिम र खाम्सेकुका बस्तीमा पसेको थियो । डढेलोले पूर्णबहादुर अधिकारी, हस्तीमाया राई र बडीसुबा राईको घर, अन्नपात, गोठसहितका भौतिक संरचना जलेर नष्ट भएको थियो । ताला लगाइएका अरु ७ वटा घर/गोठ पनि जलेका छन् ।

पारसमणि राई, बुद्धिमाया सार्की, निसान राई, जसबहादुर राई, दिलबहादुर राई, उत्तरकुमार राई, सेतीदेवी कार्की, वसन्त राई, लाखधन राई र बुद्धिबहादुर कार्कीका कसैका गाईगोठ/ग्वाली, कसैका घाँसदाउरा राखेका टौवा पनि डढेलोले नष्ट गरिदिएको छ । पूर्णबहादुरका २ वटा गाई र एउटा बहर गोरु पनि जलेर घाइते छन् ।

पालिका अध्यक्ष राईले अग्नीपीडित परिवारलाई क्षतिको अनुपातलाई आधार बनाएर मानिस बसोबास गरिरहेको घर जलेकोमा प्रतिपरिवार ५० हजार र मानिस बसोबास नगरेका तर जलेर नष्ट भएको हकमा प्रतिघर २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको बताए । ‘मानिस बसिरहेको घर जलेको भए प्रतिपरिवार ५० हजार र मानिस बसोबास नगरेकाको हकमा २५ हजार रुपैयाँका दरले पालिकाबाट राहत उपलब्ध गराउने निर्णय भएको छ,’ राईले कान्तिपुरसित भने, ‘यसका लागि तीन सदस्यीय राहत वितरण तथा समन्वय समिति गठन गरिसकेका छौं ।’

अध्यक्ष राईले अग्नी प्रभावितको क्षतिको मूल्यांकन, राहत वितरण र सहजीकरणका लागि पालिकाको ३ नम्बर वडाका अध्यक्ष इन्द्रमणि (राजन) दाहालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका छन् । समितिमा वडा नम्बर २ का अध्यक्ष युजन बस्नेत र ७ नम्बर वडाका अध्यक्ष भोजराज कार्की सदस्य छन् । समितिको सिफारिसका आधारमा पालिकाले पीडित परिवारलाई सोहीअनुसार राहत तथा पुन:स्थापनाका लागि काम गर्ने बताए ।

डढेलो दिउँसो बस्तीमा पसेकाले मानिसले भागेर ज्यान जोगाएका थिए । पालिकाको वडा नम्बर ३ पञ्चनमा पर्ने लोस्कु, बिदेशी, रोलिम, चिउरीखर्क, सेसेल्मु, खामसेकु, पैराथाम र भोर्लेनीका धेरैजसो बस्ती सुख्खायाममा डढेलो र आगलागीबाट उच्च जोखिममा पर्छन् । जंगलको छेउछाउमा भएकाले डढेलो बस्तीमा फैलिने जोखिम भए पनि नियन्त्रणका लागि विपद व्यवस्थापनजन्य उपकरण र पानी अभाव रहेको छ । बुधबारको डढेलो पनि नजिकैका सल्ला र सालको जंगलबाट फैलिदै बस्ती पसेको थियो ।

प्रकाशित : वैशाख २१, २०८१ १८:२४
x
×