कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५

बरामद गरिएका उपभोग्य वस्तु नष्ट गरियो

भाद्र २६, २०८१
बरामद गरिएका उपभोग्य वस्तु नष्ट गरियो

खोटाङ — खोटेहाङ गाउँपालिकाका विभिन्न बजारबाट अखाद्य भइसकेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको छ । 

बुधबार इलाका प्रशासन कार्यालय खोटाङ बजारका निमित्त प्रमुख मोहनबहादुर राईको संयोजकत्वमा अनुगमन गर्दा म्याद नाघेका उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको हो । उक्त गाउँपालिका–८ सिम्पानी बजार अनुगमन गर्दा ३० हजारभन्दा बढीको अखाद्य भइसकेका उपभोग्य तथा अन्य वस्तु बरामद गरिएको थियो ।

वडाध्यक्ष चन्द्रबहादुर थापाका अनुसार चिउरा, चाउचाउ, बेसार बिस्कुट, फ्रुटी, चिजबल, सुजी, हर्लिक्स, थुक्पा, मिट मसला, ज्वानो, ड्यु, कोक, फेन्टा, अजिना, मिरिन्डा, इनर्जी ड्रिङ्स लगायत म्याद नाघेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको हो । यसबाहेक मेहन्दी, बडीस्प्रे, मन्जन, फेसवास, बेबी साबुन, स्याम्पो, स्क्रिम, लोसम क्रिम, केस तेल, जेल, हेयर ट्रिटमेन्ट लगायतका म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको राईले बताए ।

सिम्पानी बजारमा ३० हजार ९० रूपैयाँ बराबरको म्याद नाघेका उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको हो । त्यस्तै सोही गाउँपालिका–६ इन्द्रेणीपोखरीमा पनि उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ । इन्द्रेणीपोखरीमा बिस्कुट, मसला, ड्यु, अजिना, पेप्सी, बेसार, मरिच गरी चार हजार ९ सय १५ रूपैयाँ बराबरको र उरोक्सिङ भन्ज्याङमा ड्यु, बिस्कुट, थुक्पा, चिप्स, कोक, पेप्सी, बदाम जुस, चिजबल, अजिना, मिट मसला, भुजियालगायत गरी २२ हजार ४० रूपैयाँ बराबरको म्याद नाघेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको हो ।

अनुगमनका क्रममा प्रक्रिया नपुर्‍याई सञ्चालन गरिएको पाँच वटा मेडिकललाई एक साताभित्र प्रक्रिया पुर्‍याउनसमेत निर्देश गरिएको छ । सिम्पानीमा तीन वटा, इन्द्रेणीपोखरीमा एउटा र रोक्सिङ भन्ज्याङमा एउटा मेडिकललाई उक्त निर्देशन दिइएको हो ।

प्रक्रिया नपुर्‍याइए कारबाही गरिने जनाउ दिएको राईले बताए ।

प्रकाशित : भाद्र २६, २०८१ १९:२१
×