ताप्लेजुङ — कोरोना संक्रमणपछि जंगलको आम्दानी लिन नपाएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका बासिन्दा कुट्की खोज्न जंगल पसेका छन् । टिप्ताला सामुदायिक वन उपभोत्ता समितिले एक महिनाका लागि कुट्की संकलन खुला गरेपछि खाने बस्ने बन्दोबस्तीका सामानसहित कुटो कोदालो बोकेर हिमाली क्षेत्रको जंगलमा पसेका हुन् । कुट्की हिउँले ढाकिरहने क्षेत्रमा बढी पाइन्छ ।
सामुदायिक वन उपभोत्ता समुहका सचिव अङचुक शेर्पाले जनही दुई सय रुपैयाँ शुल्क लिएर कुट्की संकलनका लागि छोडिएको बताए । ‘गाउँलेहरु चार/पाँच वर्षदेखि जंगल पस्न पाएका थिएनन्,’ उनले भने, ‘यो वर्ष संकलन त खुलाएका छौँ । तर मूल्यपनि छैन । कुट्की पनि प्रशस्त छैन भन्दैछन् ।'
अहिले बजार मूल्य प्रतिकिलो एक सय रुपैयाँ मात्रै रहेको शेर्पाले बताए । कोरोना संक्रमण अघिसम्म तीन सय रुपैयाँ रहेको थियो । कोरोना संक्रमण पछि पनि चीनले नाका नखोलेका कारण उनीहरूले संकलन गरेका थिएनन् । स्थानीयका अनुसार कुट्की निकाल्दा निकाल्दै बिक्री गर्न पाए राम्रो हुन्छ ।
घरमा ल्याएर राख्नुपरे सुकेर ५० प्रतिशत बढी तौल घट्छ । यसरी घटेपछि बिक्री गर्दा फाइदा नहुने स्थानीय बताउँछन् । ‘पहिला चीनियाँ व्यापारी टिप्दा टिप्दै जंगलमै आइपुग्थे, र लैजान्थे,' ओलाङ्चुङगोलाका नुपु शेर्पाले भने, ‘खै यो वर्ष लाने कुरा गरेको छैन ।’ लाने आशामा गाउँभरिका मान्छे कुट्की संकलन गर्न गएका छन् ।
नुपुले भने, ‘गाउँमा त अहिले बुढापाका मात्रै पो छौं, तर पैसाचाँहि कत्तिको साट्न पाइन्छ अन्योल नै छ ।’ चीन जोड्ने ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाका खुलेपनि चीनले नेपालीलाई केही दिन नआउनु भनेर खबर पठाएका छन् । ३५ सयदेखि ५ हजार मिटरसम्म पाइने यो जडीबुटी भुँइभित्रबाट खनेर निकाल्नु पर्छ ।
४ हजारदेखि ४५ सय मिटर क्षेत्रमा राम्रो पाउने स्थानीय बताउँछन् । ‘धेरै वर्ष संकलन नगर्दा प्रशस्त होला भन्ने लागेको थियो, तर खन्नेहरुले पातलो रहेछ भनिरहेका छन्,’ सचिव शेर्पाले भने । सामुदायिक वनका अध्यक्षको नेतृत्वमा गाउँलेहरु जंगल पसेको उनले बताए ।
कुट्की जमीन भित्रबाट बाहिरसम्मै देखिने गरिको हुन्छ । नेपाल सरकारले हिमालय क्षेत्रमा पाइने ३० महत्वपूर्ण र अनुसन्धान गर्नुपर्ने जडीबुटीको सूचीमा कुट्कीलाई राखेको छ । हिमालय क्षेत्रमा पाइने चिराइतो, यार्सागुम्वा, कुट्की लगायतका जडीबुटी औषधीय निर्माणका लागि विदेश निर्यात हुने गरेको छ ।
स्थानीयले रुघाखोकी लाग्दा, ज्वरो आउँदा, आउँमासी पर्दा घरेलु औषधिको रुपमा यसको प्रयोग गर्दै आएका छन् । नेपालसहित भारत, चीन, भुटान, पाकिस्तानमा पाइने यस्ता जडीबुटीको उपयोगिताका विषयमा वनस्पतिविद्ले अध्ययन गर्ने बताएका थिए । २०७८ सालमा खुम्वू क्षेत्रमा नमुना संकलन गरेर फैलावट, टिस्यु कल्चर लगायतका विषयमा अध्ययन गर्ने बताएका थिए ।
जमिनभित्र फैलिने कुट्की उपयुक्त लागेको स्थानमा जमिन बाहिर समेत फैलिने भएकाले वनस्पतिविद्ले यसलाई ‘गुरिल्ला वनस्पति’ को उपाधि पनि दिने गरेका छन् । चीनसँगको नाका खुलेपछि थोरै मात्रामा चिराइतो र पहिला रहेको केही कुट्की निर्यात भएपनि अहिले बिक्री नभएको फक्ताङलुङ-७ का निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् ।
‘गाउँमा अरु आम्दानीको श्रोत छैन, तै एक दुई पैसा भएपनि हुन्छ कि भनेर गाउँले सबै जंगल पसेको छन्,’ भोटेले भने, ‘एक जनाले एक दिनमा १० देखि १५ किलोसम्म संकलन गर्न सक्छ ।’ कुनै ठाउँमा झ्याप्पै भेटिने र कतै ठप्पै नहुने हुन्छ ।
भेट्नेलाई भाग्यले साथ दिएको, नभेट्ने अभागी हुने भोटे बताउँछन् । त्रिपालसहित ओड्ने ओछ्याउने लिएर जाने गाउँले राम्रै भेटे लामै समय बस्छन् । अहिले तत्काललाई एक महिनामात्रै छोड्ने र मूल्य बढेपछि फेरि खुलाउने सचिव शेर्पाले बताए ।
उनका अनुसार मंसिर सम्मनै यसलाई संकलन गर्न सकिन्छ । यो क्षेत्रमा विदेशी पर्यटक नआउने भएकाले जुन समय खुलाएपनि गाउँले खाली हुने छेतेनको कथन छ ।
प्रकाशित : भाद्र २६, २०८१ १७:१९