कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एक महिनाको अवधिमा ११ सय ५८ केजी गाँजा बरामद

भाद्र २६, २०८१
एक महिनाको अवधिमा ११ सय ५८ केजी गाँजा बरामद

धनकुटा — प्रहरीले एक महिनाको अवधिमा साढे एघार क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । साउन अन्तिम साता यता साँगुरीगढी गाउँपालिकाको भेडेटार तथा शहिदभूमी गाउँपालिकाबाट उच्च परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

साउन अन्तिम सातायता ११ सय ५८ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

यसक्रममा बुधबार बिहान सहिदभूमी गाउँपालिका-४ स्थित खोकुबाट प्रहरीले दुई क्वीन्टल ८७ केजी गाँजा नियन्त्रणमा लिएको छ । को १ च ९२९० नम्बरको पिकअप गाडीमा राखेर लैजान लागिएको उक्त परिमाणको गाँजा बुधबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२५ वटा बोरामा राखिएको गाँजासहित पिकअप चालक मेखराज राई र गाडी नियन्त्रणमा लिइएको डीएसपी महर्जनले जानकारी दिए । राति १ बजेको समयमा शंकास्पद अवस्थामा भेटिएको गाडी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उच्च परिमाणको गाँजा बरामद भएको महर्जनले बताए । गाडी र चालक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक महिनाको अवधिमा धनकुटामा उच्च परिमाणमा गाँजा बरामद भएको यो तेस्रो घटना हो । गत साउन २३ गते साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारबाट प्रहरीले १ सय ३५ केजी गाँजा बरामद गरेको थियो । यस्तै, साउन २८ गते धनकुटाबाट तरकारी बोकेको मालवाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा बोकेको ट्रक र चालक भेडेटार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : भाद्र २६, २०८१ १६:१३
×