कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बन्दी सरुवा गर्न नसक्दा झापा कारागारमा सुरक्षा खतरा

श्रावण २०, २०८०
बन्दी सरुवा गर्न नसक्दा झापा कारागारमा सुरक्षा खतरा

बिर्तामोड — कैदी सरुवा गर्न नसकेपछि झापा कारागार भद्रपुरमा सुरक्षा खतरा बढेको छ । कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार अपराह्न ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका लावती झापा कारागारका भाइ चौकीदार हुन् । कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न खोजिएको थियो । अपराह्न २ बजेतिर झुम्का लैजानका लागि कारागार प्रशासनले बाहिर निकालेर हत्कडी लगाएलगत्तै लावती चिच्याएका थिए । त्यसपछि कारागारभित्रका कैदीबन्दीले आगजनी र ढुंगामुढा गरेका थिए ।

लगातार एक घण्टाभन्दा बढी समयसम्म कैदीबन्दीको ढुंगा र इँटा प्रहारले कारागार रणमैदान बनेको थियो । उनीहरुले कारागारभित्रै आजगनी समेत गरेर कैदी सरुवाको विरोध जनाएका थिए । लावतीको सरुवाविरुद्ध कैदीबन्दीहरु आन्दोलित बनेपछि झापा कारागारमा सुरक्षाखतरा बढेर गएको हो । अधिकांश कैदीबन्दी लावतीको पक्षमा देखिएका छन् । कैदीबन्दीको आन्दोलनले लावतीको सरुवा रोकिएको छ ।

झापा कारागारका चौकीदार लय शिवाकोटीको चलखेलका कारण लावतीलाई झुम्का कारागार सरुवा गर्न खोजिएको कैदीबन्दीहरुको आरोप छ । शिवाकोटीसमेत कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्षदेखि कैद भुक्तान गरिरहेका कैदी हुन् । उनी आर्थिक वर्ष २०७९/८० का चौकीदार हुन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि उनको नाम चौकीदारमा सिफारिस भएको थियो । तर, कारागार व्यवस्थापन विभागको सरुवा गर्न निर्णयले उनी चौकीदार हुन पाएनन् । कारागार प्रशासन र कैदीबन्दीहरुको सल्लाहबमोजिम आगामी चौकीदारका लागि कैदीबन्दी भरत सार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ ।

हालै विभाग नेतृत्वको अनुमगन टोलीले झापा कारागारमा सुरक्षा खतरा बढेर गएको, सुरक्षा निगरानी बढाउनुपर्नेलगायतका सुझाव दिएका छन् । कैदीबन्दीहरु पक्षविपक्षमा संगठित भएको, कारागारभित्रैबाट लागूऔषध समेतको कारोबार हुने गरेको लगायतका खतरा औंल्याइएका छन् ।

लावती पक्षका कैदीबन्दीहरुले कारागारका चौकीदार शिवाकोटीलाई कोठाभित्र थुनेर कारबाही गरेका छन् । कैदीबन्दीहरुले शिवाकोटीलाई चौकिदार नरहेको भन्दै बाहिर निस्कन नदिएको कारागार प्रशासनले जनाएको छ । उनलाई शुक्रबार साँझदेखि नै कारबाही गरेको कारागार प्रमुख मोहन पनेरुले जानकारी दिए ।

कारबाहीमा परेका चौकीदार शिवाकोटीले कारागार प्रशासन समक्ष आफ्नो सरुवाको माग राखेका छन् । ‘कारबाहीमा परेपछि सुरक्षा खतरा बढेको भन्दै चौकीदार शिवाकोटीले कारागार सरुवाको माग राखेका छन्,’ पनेरुले भने, ‘उनले आफू झुम्का कारागार जान इच्छुक रहेको मलाई बताएका छन् ।’

झापा कारागार ७ सय कैदीबन्दी क्षमताको हो । त्यहाँ अहिले ८४ महिलासहित १ हजार ५ सय ४८ कैदीबन्दी रहेको कारागार प्रमुख पनेरुले जानकारी दिए । कैदीबन्दीले ढुंगा प्रहार गर्दा प्रशासनको लागि निर्माण गरिएको नयाँ भवनमा क्षति पुगेको छ । ‘नयाँ भवनका सबै झ्यालका सिसा फुटेका छन् । कैदी बोक्ने गाडीमा पनि क्षति पुगेको छ । कार्यालय अगाडि पार्किङ गरेर राखिएका मेरोसहित दुईटा मोटरसाइकलमा समेत क्षतिपुगेको छ,’ पनेरुले भने । शुक्रबारको स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

प्रकाशित : श्रावण २०, २०८० १९:१३
×