कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा रणनीतिक योजना

फाल्गुन २७, २०७९
जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा रणनीतिक योजना

खुम्जुङ, सोलुखुम्बु — सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीतिक योजनाका साथ काम गर्ने तयारी गरेको छ । यसका लागि गाउँपालिकाले जलवायु न्यायमा काम गर्दै आएको सामाजिक संस्था 'साथसाथै'सँग ५ वर्षका लागि साझेदारीसमेत गरेको छ ।

खुम्जुङमा आयोजित एक कार्यक्रममा गाउँपालिकाले साझेदारी संस्थासँग भएको समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान समेत गरेको छ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गरेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर नेतृत्वको टोलीबीच गाउँपालिकाले साझेदारी गरेको हो ।

सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष टासिल्हमु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका छन् । जलवायु परिवर्तनले स्थानीयमा पुर्‍याएको असर विषयमा अध्ययन, अनुसन्धान र विकासका काममा सहकार्य हुने सम्झौतापत्रमा उल्लेख छ ।

सोलुको उच्च हिमाली भेग खुम्जुङमा बुधबार आयोजित उक्त कार्यक्रममा उपसभामुख रानामगरले गाउँपालिकाले स्थानीय जनतालाई जलवायु न्यायका लागि रणनीतिक काम थालेकोमा प्रशंसा गर्दै त्यसको कार्यान्वयनका लागि संसदबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको बताइन् । जलवायु परिवर्तनले सर्वोच्च शिखर सगरमाथालगायत हिमालमा हिउँको मात्रा क्रमश: कम हुँदै गएको, त्यसले पर्यटन र कृषि क्षेत्रमा असर पुर्‍याएपछि गाउँपालिकाले रणनीतिक विकासको कामलाई अघि बढाएको हो ।

सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मानवीर राईले जलवायु परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयवासीलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै जलवायु न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

‘यो खुम्बुवासीको मात्र दु:ख होइन, यसले देशलाई नै असर पार्ने भएकाले विकासका लागि साझेदारी हुनुुपर्छ,’ सांसद राईले भने । गाउँपालिका अध्यक्ष मिङमार छिरि शेर्पाले स्थानीयमा देखिएको समस्या हल गर्न गाउँपालिका तहबाट विभिन्न काम हुँदै आएको जानकारी गराउँदै यो साझेदारीले आगामी दिनमा झन् सहज हुने बताए । गाउँपालिका उपाध्यक्ष शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानु पर्ने धारणा राखिन् ।

जलवायु परिवर्तनले स्थानीय जनजीवन खासगरी महिलामा पारेको असरमा अध्ययन गर्दै आएको संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले खुम्बुक्षेत्रको समस्यालाई गहन रुपमा अध्ययन गरी संघीय सरकार र अन्तर्राष्टियय मञ्चहरुमा यसबारे ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस क्षेत्रमा जलवायु परिवर्तनका असरलाई स्थलगत बुझ्न र प्रभावित बासिन्दाका समस्या केलाउन साथसाथैले नारी दिवसको सन्दर्भ पारेर लुक्लादेखि खुम्जुङसम्म ६ दिनको पदयात्रा गरेको थियो । पदयात्रामा उपसभामुख रानामगर, निवर्तमान परराष्टमन्त्री एवं राष्ट्रियसभा सदस्या विमला राई पौडेल, कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटी, विज्ञहरु माधव कार्की, यमुना घले, सरु श्रेष्ठ जोशी, दिपिका दाससहित १६ जनाले पदयात्रा गरेका हुन् ।

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका कामका साथै जलवायु परिवर्तनले पुर्‍याएको हानी नोक्सानी, जलवायु न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने उल्लेख छ । जलवायु न्यायका लागि जनजागरण ल्याउने, प्रचारप्रसार गर्ने अनुकुलनका कार्यक्रमहरुका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाहरुको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्ने लगायत काममा सहकार्य हुने उल्लेख छ ।

प्रकाशित : फाल्गुन २७, २०७९ १८:५८
×