कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

पुस १५, २०७९
प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

मोरङ — प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन भइरहेको छ । निर्वाचन समितिका संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले आज बिहान ९ बजेदेखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको जनाएको छ ।

दलको नेताका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेतामा उम्मेदवारी दिएका हुन् ।

कार्कीका प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई छन् । थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई रहेको निर्वाचन संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले बताए । अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ् र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ् छन् ।

मोरङ क्षेत्र ६(२) बाट दोस्रो पटक निर्वाचित कार्की पहिलो प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक थिए । पाँच दलीय गठबन्धनमा कांग्रेस सरकारमा गएपछि उनी मन्त्री बन्ने अबसर पाएका थिए । दुई कार्यकाल कांग्रेसका झापा जिल्ला सभापतिपछि प्रदेशसभापतिमा निर्वाचित भएका थापा प्रदेशसभामा पहिलो पटक समानुपातिकतर्फ निर्वाचित भएर संसदीय अभ्यासमा आएका हुन् । थापा पहिलो संसदीय अभ्यासमा नै दलको नेता जित्ने दाउमा छन् । दुई कार्यकाल कांग्रेस मोरङको जिल्ला सभापति भएर दोस्रो पटक पार्टीको केन्द्रीय सदस्य भएका अर्याल संविधान सदस्य भइसकेका छन् । उनले यसपटक गठबन्धनका कारण प्रतिनिधिसभा सदस्यमा टिकट नपाएपछि मोरङ ५(२) बाट प्रदेशसभा सदस्यमा जितेर दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।

संस्थापन पक्षबाट अर्याल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका थापा र संस्थापन इत्तर शेखर कोइराला पक्षबाट कार्कीले उम्मेदवारी दिएका हुन् । यस प्रदेशमा कांग्रेसको २९ सांसद छन् । जसमा संस्थापन र संस्थापनइतर पक्षका १०/१० र सिटौला पक्षका ९ जना प्रदेश सांसद रहेको कांग्रेसका प्रदेश सांसदहरूको भनाइ छ । संस्थापन इत्तर पक्षका कार्कीले संस्थापन र सिटौला पक्षका सांसदको समर्थनमा दलको नेता जित्न जोडबल लगाइरहेका छन् । यता, संस्थापन पक्षका अर्याल र थापाले पहिलो पटकको निर्वाचनमा अगाडि आएर दोस्रो पटकको निर्वाचनमा दुबै पक्षको मतले जित्ने दाउमा छन् ।

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता निर्वाचित हुनका लागि कूल मतदाताको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा बढी मत कुनैपनि उम्मेदवारले प्राप्त नगरेपछि बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः निर्वाचन भएर त्यसमा बढी मत ल्याउने दलको नेतामा निर्वाचित हुने विधानमा उल्लेख छ । त्यसैले पहिलो निर्वाचनबाट दलको नेता निर्वाचित हुनेले १५ जना प्रदेश सांसदको मत प्राप्त गर्नुपर्ने छ । तीनै जना उम्मेदवारमध्ये कसैले पनि १५ जनाको मत प्राप्त गर्न नसकेको अबस्थामा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ ।

प्रकाशित : पुस १५, २०७९ ०७:५१
×