कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

उपकुलपतिको आरोप : बीपी प्रतिष्ठान पतन गराउन मेडिकल माफिया उद्यत

वैशाख १८, २०७९
उपकुलपतिको आरोप : बीपी प्रतिष्ठान पतन गराउन मेडिकल माफिया उद्यत

Highlights

  • प्रतिष्ठानको ८० प्रतिशत आम्दानी बाहिरिएको दाबी
  • चिकित्सक, कर्मचारी नै अन्यत्र रेफर गराएर कमिसन खाने गरेको आरोप

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आम्दानीको ८० प्रतिशत राजस्व रकम चुहावट भइरहेको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दाबी गरेका छन् । उनले पछिल्लो समयमा चुहावट हुन नसकेर रहेको २० प्रतिशत आम्दानीले मात्र थेगिरहेको बताए । प्रतिष्ठानको राजस्व चुहावट गरेर पतन गराउन मेडिकल माफियाहरू नै लागेको पनि डा. गिरीले बताए ।

प्रतिष्ठानमा उपचारमा आउनेका लागि उपलव्ध सेवा विस्तारमा थपिएका मेडिकल उपकरण र भौतिक विस्तारका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गिरीले भने, ‘प्रतिष्ठानभित्रैका केही चिकित्सक शिक्षक कर्मचारीले प्रतिष्ठानबाहिर पनि निजीस्तरमा व्यवसाय चलाएका छन्, बिरामी आउँछन् बीपी प्रतिष्ठानमा तर रेफर गरिदिन्छन् अन्यत्र ।’ उनले स्थानीय तहको चुनाव सकिएलगतै राजस्व चुहावट गर्ने चिकित्सक, शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया सुरु गर्ने बताए ।

‘आम्दानी घटाउने भूमिका खेल्नेहरूलाई कारबाही गर्दा कि म बाहिरिन्छु कि उनीहरू बाहिरिन्छन्,’ गिरीले प्रतिष्ठानको आम्दानी घटाउने भूमिकामा हेल्परदेखि चिकित्सक र कर्मचारीहरू नै सक्रिय रहेको र आईसीयूमा राख्नुपर्ने एक जना बिरामीलाई विराटनगरको कुनै अस्पतालमा रेफर गरे १० हजारदेखि १५ हजार रुपैयाँ कमिसन खाने गरेको पाइएको बताए । उनले भने, ‘त्यसको प्रमाण मसँग छ, विराटनगरको निजी अस्पतालहरू नाबेल र विराट टिचिङमा काम गर्दा बीपी प्रतिष्ठानमा सबै खाले उपचार सेवा र सुविधा सम्पन्न हुँदाहुँदै पनि कमिसनको लोभमा रेफर भएर आउँथे ।’

उनले प्रतिष्ठान विरामीको उपचार गर्ने, चिकित्साशास्त्रको अध्ययन गर्ने र अनुसन्धान गर्ने थलोको रुपमा स्वायत्त स्वास्थ्य शैक्षिक संस्था भए पनि अराजक र अनुशासनहीन, राजनीतिक दलको क्रियाशील सदस्यता लिएका चिकित्सक र कर्मचारीले बदनाम गराएको बताए । प्रतिष्ठान अहिले क्यान्सर रोगको पहिलो स्टेजमा रहेको बिरामी जस्तो भएको बताउँदै उनले बेलैमा उपचार गर्न सके जिवन्त बनाउन सकिने नत्र कहिलै नसकिने टिप्पणी गरे । उनले प्रतिष्ठानका मेडिकल उपकरण र भौतिक पूर्वाधारहरू जोडेर मात्र आम्दानी बढाउन र सुधार गर्न नसकिने पनि बताए ।

प्रतिष्ठान सुधार्न रणनीतिक कार्ययोजना सार्वजनिक
बीपी प्रतिष्ठानले उपचार सेवामा गुणस्तर वृद्धि गर्दै आधुनिक मेडिकल उपकरण जडान र प्रविधि प्रयोग गरेर मुलुककै उत्कृष्ट स्वास्थ्य शैक्षिक संस्था बनाउँदै समय सापेक्ष शैक्षिक स्तर उकास्न रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

कार्ययोजना अनुसार पर्याप्त दक्ष जनशक्ति भएकाले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानको एमबीबीएस, एमडीएमएस, एमडीएस, पीजी, डीएम एमसीएच, फेलोसिप, कलेज अफ नर्सिङ र कलेज अफ डेन्टल सर्जरीजस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ । सुपर स्पेसियालिटी सेवालाई थप विस्तार गर्न भारतका स्थापित विश्वविद्यालयसँग समन्वय र सहकार्यको प्रक्रिया सूरु गरेको उपकुलपति गिरीले बताए । अस्पताल सेवालाई प्रभावकारी बनाउन चार सय बेडको मातृशिशु उपचार केन्द्र, दुई सय बेडको क्यान्सर उपचार केन्द्र, दुई सय बेडको मुटुरोग उपचार केन्द्र, नेफ्रो–युरोलोजी सेन्टर र ट्रमा सेन्टरका लागि सरकारसँग बजेटका लागि पहल भइरहेको पनि उनले बताए ।

मातृशिशु उपचार केन्द्र (एमसीएच) भवनको काम ८० प्रतिशत सकिएको छ । उनले भने, ‘प्रतिष्ठानमा पूर्वाधार भएकाले अति विशिष्ट सेवाहरूमध्ये नेफ्रो–युरोलोजी, प्लास्टिक सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपणसम्बन्धी सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ ।’ थ्री टेस्लाको एमआरआई, अल्ट्रासाउन्ड र डिजिटल एक्सरे मेसिन, अप्रेशन थिएटरमा थप अप्रेसन टेवलहरू जडान गर्नुको विकल्प पनि नभएको उनले बताए ।

प्रतिष्ठानमा सीटी स्क्यान अभाव भएपछि हालै मात्र २५६ स्लाइसको अत्याधुनिक सीटी स्क्यान मेसिन जडान भएपछि दैनिक ५० जनाको जाँच भइरहेको छ । एकै पटकमा १२ सय जनाको बायोकेमेस्ट्रि रिपोर्ट निकाल्ने फुल्ली अटोमेटेड इन्ट्रिग्राटेड बायोकेमेस्ट्री र इम्युनोआसास्से एनालाइजर जडान भए पनि तत्काल रिपोर्ट दिने व्यवस्था मिलाएर भीड व्यवस्थापन भइरहेको छ । ७५ थान हाइडिपेन्डेन्सी युनिट बेड ४० वटा आईसीयू बेड र आकस्मिक कक्षलाई ७० बेड क्षमताको बनाइएको छ । ३० वटा थप आईसीयू बेड जडान हुने क्रममा छ । उनले आईसीयू बेड नपाइएको, ल्याब रिपोर्ट र रेडियोलोजीको सीटी स्क्यान, अल्ट्रासाउन्ड र एक्सरे रिपोर्ट ढिलो पाउने गरेको, ओपीडी सेवामा अत्यधिक चाप भएको गुनासो आएकाले त्यसलाई व्यवस्थित गर्न विभागीय प्रमुख र चिकित्सक कर्मचारीसँग समन्वय गरिरहेको बताए ।

थप १२ नयाँ डायलसिस मेसिन विस्तार
बीपी प्रतिष्ठानमा बिहीबार नै मेडिसिन विभागअन्तर्गत रहेको डायलसिस युनिटमा १२ वटा मेसिन र बेड थपिएको छ । प्रदेश १ र मधेस प्रदेशसहित मुलुकका विभिन्न भेकबाट डायलसिस गर्न आउने मिर्गौला रोगीको चाप अत्यधिक भएर महिनौं पालो पर्खाउनुपरेकाले १२ वटा मेसिन थपेर २० वटा पुर्‍याइएको प्रतिष्ठान मेडिसिन विभागका प्रमुख प्राडा. रविन मास्केले बताए । ‘धरानकै बिरामीले समेत महिनौं पालो कुर्ने गरेका थिए, टाढाटाढाकाले त झन् सास्ती नै पाएका थिए,’ उनले भने, ‘अब २० वटा मेसिन २४ सै घण्टा सञ्चालन गर्दा पनि मासिक रूपमा एक हजार जना बढीलाई सेवा दिन सक्छौं ।’ दुई थान पुराना प्रविधिको मेसिन भएको प्रतिष्ठानमा सन् २००४ मा मिर्गौला र मुटुरोग विषेशज्ञ प्राडा. सञ्जीव शर्माको पहलमा रोयल लन्डन हस्पिटलले दिएको ११ थान डायलासिस मेसिन कतार एयरले निःशुल्क ढुवानी गरेर ल्याइदिएपछि सेवा प्रभावकारी भएको भएको थियो । त्यसपछि केही मेसिन थपेर बेग्लै हेमोडाइलाइसिस युनिट बनाइएको छ । तर पछिल्लो समयमा मिर्गौला बिग्रनेको संख्या बढेपछि सातामा कम्तीमा दुई पटक डाइलाइसिस गर्नुपर्नेले महिनौं कुर्नुपर्ने अवस्था आएको थियो ।

मेडिसिन विभागका पूर्वप्रमुख प्राडा. शर्माले भने, ‘थपिएको मेसिन स्विडेनको ग्याम्बो कम्पनीबाट निर्मित उन्नत प्रविधियुक्त रहेकाले सुरक्षित छ ।’ उनले प्रत्येक १० जनामा एक जनाको मिर्गौला समस्या देखिने भए पनि कुनै कारणले आकस्मिक रूपमा बिग्रिएमा तत्कालै दुई/चारपटक डाइलाइसिस गरेमा पहिलेकै अवस्थामा ल्याउन सकिने तर दीर्घ रूपमा नसप्रिने गरी बिग्रेमा कि अर्को मिर्गौला प्रत्यारोपण कि बाँचुन्जेल डाइलाइसिस गरिहरनुपर्ने कि त पेटबाट घरमै सीएपीडी डाइलायसिस गर्नुपर्ने बताए ।

प्रकाशित : वैशाख १८, २०७९ १०:३०
×