कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बाल साहित्य गोष्ठीको उपादेयता

आश्विन ४, २०८१

नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनले देश, विदेशका भाषा, साहित्यप्रेमी एवं बाल उत्थानमा लाग्नेहरूको ध्यानाकृष्ट गरेको छ । अन्तर्राष्ट्रियस्तरको सम्मेलन यसअघि नेपालमा भएको पनि थिएन । काठमाडौं महानगरपालिका, प्रकृति संरक्षण कोष, एसियाली विकास बैंकलगायतको संयुक्त तत्त्वावधानमा आयोजना हुने सम्मेलनमा देशका मूर्धन्य साहित्यकार, बाल विकासमा संलग्न व्यक्तित्व, अन्तर्राष्ट्रिय क्षेत्रका विद्वान्, लेखकहरूको संलग्नता हुने बताइएको छ ।

कार्यक्रमको गरिमा र आकर्षण बढाउन गोष्ठीमा बाल साहित्यसम्बन्धी पुस्तक पुस्तिका, कलात्मक वस्तु, कलाकृतिले भरिएका पेन्टिङलगायत राख्ने निर्णय गरिएको छ । विगत नियाल्ने हो भने नेपालको शिक्षा नीतिले भाषा उत्थानका निम्ति गोष्ठी, सम्मेलनलाई खासै महत्त्व दिएको पाइँदैन । नेपालीलगायत अन्य मातृभाषालाई परिष्कृत गर्दै लैजाने ठोस कार्यक्रम राखेको पनि देखिँदैन ।

खासगरी मुलुकभरका विद्यालयमा नेपाली भाषा अनिवार्य गरिँदासमेत शिक्षक, विद्यार्थी, अभिभावकले उपेक्षा गर्दा त्यसको असर एसईईमा देखिएको छ । निजी विद्यालयबाट परीक्षा दिनेमध्ये अधिकांश विद्यार्थी बल्लतल्ल नेपालीमा उत्तीर्ण भएका छन् भने अनुत्तीर्ण हुनेको संख्या गनेर साध्य छैन ।

यसैबीच, भाषामाथिको वितृष्णा बढ्दै गएका कारण अंग्रेजी माध्यमबाट सिकाइ र आपसी बोलीचाली पनि अंग्रेजीमै हुने सरकारी, सामुदायिक विद्यालयमा विद्यार्थी, अभिभावकको आकर्षण बढेको पाइन्छ । उता पछिल्लो समय कोरियन, जापानिजलगायत भाषाको पढाइ–सिकाइ हुने विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेका समाचार प्राप्त भइरहेका छन् । अर्को शब्दमा यसलाई भाषा, साहित्य, संस्कार, संस्कृति, मौलिकताको पलायन र मुलुकको पहिचान डगमगाउन लागेको भन्न सकिन्छ । यो विषम परिस्थितिले घेरिएको समाजलाई दिशानिर्देश गर्न केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैको अहम् भूमिका रहन्छ ।

प्रथमतः सरकारले भाषागत साहित्यिक चेतना सबैमा जगाउन प्रचारप्रसारका कार्यक्रम एवं सबै तहका विद्यार्थीलाई साहित्यिक गतिविधिमा सहभागी हुने किसिमको शिक्षा नीति लागू गर्नुपर्छ । विशेषतः यस्ता बाल साहित्य सम्मेलनले बालबालिकामा भाषाप्रति आकर्षण थप्ने, वैचारिक धरातल फराकिलो बनाउने यथार्थलाई मध्यनजर गर्दै नयाँ र प्रभावकारी कार्यक्रममा निरन्तरता दिनु जरुरी देखिन्छ ।
– भुवनेश्वर शर्मा, हाल : बोस्टन, अमेरिका

प्रकाशित : आश्विन ४, २०८१ ०६:५८
×