कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सहकारी ठगलाई कारबाही हुनैपर्छ

आश्विन ४, २०८१

कान्तिपुरमा असोज १ मा प्रकाशित ‘सहकारीको ६५ करोडमा जीबी र रविको रजगज’ शीर्षकको समाचारले मुलुकका गरिब जनताको रगत, पसिनाको बचत रकम विभिन्न ठग/अपराधीले कसरी ठग्दा रहेछन् भन्ने तथ्य उजागर गरेको छ । किनभने प्रतिनिधिसभाको संसदीय विशेष समितिले पाँचवटा सहकारी संस्थाको साढे ६५ करोडभन्दा बढी बचत रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने गरी चार जनामाथि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदन प्रतिनिधिसभाले कार्यान्वयनका लागि सरकारलाई पठाएको समाचार आएको छ । यति हुँदाहुँदै पनि रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपबाट रवि लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गरिरहेका छन् । छानबिन समितिले भने कम्पनीमा बहाल रहँदा सहकारीबाट कम्पनीमा आएको रकमको जिम्मेवार सञ्चालकहरू जीबी, रवि, छवि र रम्तेल हुने हुँदा प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने भनी सरकारलाई सिफारिस गर्ने प्रतिवेदन बुझाएको छ ।

कांग्रेस नेता धनराज गुरुङको पनि उनकी पत्नीमार्फत सहकारीकै ठगी प्रकरण आएको छ । के सहकारी त्यस्तो संस्था हो, जहाँ जतिसुकै गल्ती गरे पनि उजागर नहुने बलियो रक्षाकबच छ ? जेहोस् सहकारी वा अन्य जुनसुकै संस्थाका ठग वा प्रकरणका अपराधीलाई यो वा त्यो दल नभनी अपराध गरेको अपराधी मात्र हेरेर कानुनबमोजिम सख्त कारबाही गर्नैपर्छ । अनि मात्र भविष्यमा ठगी/अपराधजन्य क्रियाकलाप गर्नबाट पछि हट्नेछन् ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : आश्विन ४, २०८१ ०६:५८
×